काठमाडौँ । हरेक वर्षको बजेटमा झैं सरकारले यस पटक पनि फाइभजी सेवा विस्तार गर्ने योजना सारेको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौँ उपत्यका र ठुला सहरी क्षेत्रमा फाइभजी सेवा सुरु गर्ने घोषणा गरे ।
"देशभर फोरजी सेवाको विस्तार तथा गुणस्तर सुधार गरिनेछ । काठमाडौँ उपत्यका र ठुला सहरी क्षेत्रमा फाइभजी सेवा सुरु गरिनेछ," उनले भने ।
यद्यपि सरकारले यस्तै घोषणा विगत चार वर्षदेखि दोहोर्याउँदै आएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा नेपाल टेलिकमलाई २६०० मेगाहर्ज ब्याण्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी निःशुल्क प्रदान गर्दै सर्वसाधारणका लागि फाइभजी परीक्षण गर्न अनुमति दिएको थियो ।
नेपाल टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर २०७९ माघदेखि काठमाडौंमा फाइभजी सेवा आन्तरिक रूपमा परीक्षण गर्न थालेको थियो । उक्त अवधिमा बबरमहल, सुन्धारा, पोखरा र वीरगन्जमा रहेका टेलिकमका कार्यालयमा फाइभजी उपकरण जडान गरी परीक्षण गरिएको थियो ।
तर यति लामो समय बितिसक्दा पनि फाइभजी सेवा आम प्रयोगकर्ताको पहुँचमा पुगेको छैन । उपलब्धी शून्य नै रहे पनि सरकारले हरेक वर्षको बजेट भाषणमा फाइभजी सेवा विस्तारको प्रतिबद्धता जनाउने क्रम भने रोकिएको छैन ।