काठमाडौँ । राइड शेयरिङलाई वैधानिकता दिएको विरोधमा व्यवसायीहरूले सार्वजनिक यातायात सेवा ठप्प गर्दा उल्टै राइड शेयरिङ व्यवसायलाई फाइदा पुगेको छ । सार्वजनिक यातायात ठप्प हुँदा यात्राका लागि राइड शेयरिङलाई विकल्प बनाउने यात्रुहरूको सङ्ख्या ह्वात्तै बढेको हो ।
पठाओको राइड अन्य दिनको तुलनामा आज १५० प्रतिशतले बढेको कम्पनीको भनाइ छ । राइडरहरूले थेग्नै नसक्नेगरी राइड रिक्वेस्ट आइरहेको र राइडरहरू एकपछि अर्को राइड लिनमा नै व्यस्त भएको कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले बताए । उनका अनुसार अन्य दिनको तुलनामा पठाओमा राइड रिक्वेस्ट १५० प्रतिशतले बढेको छ भने राइड संख्या ५० प्रतिशतले बढेको छ । यस्तै यात्रुको संख्या ३५ प्रतिशतले बढेको बस्न्यातले बताए ।
यस्तै टुटलको पनि राइड रिक्वेस्ट निकै बढेको कम्पनीका प्रबन्ध निर्देशक रुबिक जोशीले बताए । "आज समय नै यस्तो कठिन भएका कारण आफ्नो गन्तव्यसम्म पुग्न यात्रुहरूले राइड शेयरिङ नै खोजिरहेका छन्," उनले भने, "टुटलमा राइड रिक्वेस्टको फ्लो निकै बढेको छ ।"
यस्तो बेलामा अफलाइन राइडबाट यात्रुहरू नठगिउन् भनेर राइडरलाई सहुलियत दिएर राइड गर्न लगाइएको जोशीले बताए । यता इन्ड्राइभले पनि अन्य दिनको भन्दा आफ्नो राइड बढेको जानकारी दिएको छ । राइडको माग त बढेको छ नै, बजारमा राइड शेयरिङ एप डाउनलोड गर्ने प्रयोगकर्ताको सङ्ख्या पनि निकै धेरै रहको कम्पनीहरूको भनाइ छ ।
अहिलेसम्म आउँदा के कति सङ्ख्याले प्रयोगकर्ता बढेको छ भन्ने विषयमा यकिन तथ्याङ्क निकाल्न बाँकी भएपनि नयाँ प्रयोगकर्ता दर्ता हुने क्रम पनि बढेको पठाओको भनाई छ ।
अर्कोतिर केही राइडरले भने विषम परिस्थितिको फाइदा उठाउँदै अफलाइन राइडमा यात्रुसँग धेरै रकम असुल गरिरहेको गुनासो पनि आइरहेको छ । प्रहरीले यो समाचार तयार गर्दासम्म १०० भन्दा बढी अफलाइन राइडरलाई नियन्त्रणमा लिएको सूचना प्राप्त भएको छ ।