काठमाडौँ । कास्कीमा मनपर्दी भाडा असुल्ने १५ जना राइडर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखराका विभिन्न स्थानबाट बढी भाडा असुलेको आरोपमा १५ जना राइडरलाई कारबाही गरेको हो ।
प्रहरीले उनीहरूका सवारी नियन्त्रणमा लिई जरिबाना तिराएर छाडेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सर्वसाधारणबाट बढी भाडा लिएको गुनासो आएपछि प्रहरी टोली खटिएको थियो ।
“राइडर र यात्रुबिच एपबाटै भाडाको सहमति भइसकेको हुन्छ । त्यही सहमति अनुसार राइडरले गन्तव्यसम्म पुर्याइदिने रहेछन्,” टेकपानासँग कुरा गर्दै प्रहरी नायब उपरीक्षक बस्नेतले भने, “गन्तव्यमा पुगिसकेपछि पहिले सम्झौता भएको भाडा कम भयो, बढी दिनुस् भन्ने रहेछन् । यसरी बढी भाडा असुल्न खोजेको भन्दै गुनासो आएको थियो ।”
अहिले गण्डकी प्रदेशमा सार्वजनिक यातायात व्यवसायीले राइड शेयरिङलाई कानुनी मान्यता दिन लागेको भन्दै सेवा ठप्प पारेका छन् । यातायात सेवा अवरुद्ध हुँदा सर्वसाधारण गन्तव्यमा पुग्न राइड शेयरिङ प्रयोग गरिरहेका छन् ।
यही मौकामा केही राइडरले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको गुनासो बढेपछि राइड शेयरिङ प्लेटफर्मले एपमा देखाइएको भाडा मात्र तिर्न आग्रह गरेका छन् । जिप्रका कास्कीले आइतबार पनि मनलाग्दी भाडा असुलेको फेला पारेपछि आठ राइडरलाई कारबाही गरेको थियो ।