close

ह्वाट्सएपमा नयाँ फिचर आउँदै, कुनै डेटा नगुमाई अकाउन्ट लगआउट गर्न सकिने

टेकपाना टेकपाना

जेठ २३, २०८२ ९:४४

ह्वाट्सएपमा नयाँ फिचर आउँदै, कुनै डेटा नगुमाई अकाउन्ट लगआउट गर्न सकिने

काठमाडौँ । चर्चित मेसेजिङ एप ह्वाट्सएपले नयाँ ‘लग आउट’ फिचर ल्याउने तयारी गरेको छ । हाल परीक्षणकालीन अवस्थामा रहेको यो फिचरले प्रयोगकर्तालाई एप डिलिट (अनइन्स्टल) नगरिकन र डेटा नहराई आफ्नो प्राइमेरी अकाउन्टबाट लग आउट गर्ने विकल्प दिनेछ ।

एन्ड्रोइड अथोरिटी सहकार्यमा एसेम्बलडिबगले पछिल्लो एन्ड्रोइड बेटा भर्सन (२.२५.१७.३७) मा यो फिचर फेला पारेका हुन् । यो सुविधा सेटिङ्स > अकाउन्ट (Settings > Account) अन्तर्गत नयाँ ‘Logout’ अप्सनका रूपमा देखिएको छ । फिचरमा ‘Erase all data & preferences’, ‘Keep all data & preferences’ र ‘Cancel’ नामका तीन विकल्प रहेका छन् ।

दोस्रो विकल्प ‘Keep all data & preferences’ रोजेमा प्रयोगकर्ताले लगआउट गर्दा पनि च्याट, मिडिया फाइल, ग्रुप डेटा र एप सेटिङहरू सुरक्षित रहने बताइएको छ । प्रयोगकर्ताले फेरि आफ्नै नम्बरबाट लगइन गर्दा ह्वाट्सएप पुरानै स्थितिबाट प्रयोग गर्न सक्नेछन् ।

हालसम्म प्रयोगकर्ताले एप अस्थायी रूपमा नछोउन्जेल बाहिरिन चाहँदा एप अनइन्स्टल गर्नुपर्ने वा अकाउन्ट नै डिलिट गर्नुपर्ने अवस्था थियो । यसले म्यानुअल रूपमा ब्याकअप नगरेमा डेटा गुम्ने सम्भावना रहन्थ्यो ।

यो फिचर हाल आन्तरिक परीक्षण चरणमा रहेको र केही महिनाभित्र बेटा प्रयोगकर्तालाई उपलब्ध गराइएपछि सबै प्रयोगकर्ताका लागि सार्वजनिक गरिने अनुमान छ । यसले ह्वाट्सएपलाई फेसबुकजस्ता अन्य मेटा प्लेटफर्महरूसँग मिल्दोजुल्दो बनाउनेछ । जहाँ अकाउन्ट डिएक्टिभेट गर्दा पनि प्रयोगकर्ताको डेटा सुरक्षित रहन्छ ।

नयाँ लगआउट फिचर विशेषगरी डिजिटल ब्रेक लिन चाहने, एपका समस्या समाधान गर्न खोज्ने वा एउटै डिभाइसमा विभिन्न अकाउन्ट स्विच गर्न चाहने प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ९:४८