close

ह्वाट्सएपमा विदेशी भाषामा मेसेज आयो ? अब इन्टरनेट बिनै ट्रान्सलेट गर्न सकिन्छ

टेकपाना टेकपाना

बैशाख ७, २०८२ ११:५१

ह्वाट्सएपमा विदेशी भाषामा मेसेज आयो ? अब इन्टरनेट बिनै ट्रान्सलेट गर्न सकिन्छ

काठमाडौँ । ह्वाट्सएपले च्याट मेसेज र च्यानल अपडेट अनुवाद गर्ने फिचर ल्याउने भएको छ । करिब एक वर्षदेखि विकासमा रहेको यो फिचर हालै कम्पनीले बेटा संस्करणमा केही प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ ।

डब्लूएबेटाइन्फो अनुसार ह्वाट्सएपको बेटा भर्सन २.२५.१२.२५ भएका प्रयोगकर्ताले यो ट्रान्सलेसन फिचर प्रयोग गर्न सक्नेछन् । आगामी केही सातामा अन्य बेटा प्रयोगकर्ताका लागि पनि यो सुविधा विस्तार हुँदै जाने जनाइएको छ ।

कम्पनीका अनुसार यो फिचरमार्फत अहिले स्पेनिस, अरबी, पोर्चुगिज, हिन्दी र रसियन भाषामा लेखिएका मेसेज अनुवाद गर्न सकिन्छ । अनुवादका लागि इन्टरनेटको आवश्यकता नपर्ने भएकाले प्रयोगकर्ताले आफू अनुवाद गर्न चाहेको भाषाको प्याक डाउनलोड गर्नुपर्नेछ । साथै, मेसेजको भाषा आफैं पत्ता लगाएर अनुवाद गर्ने प्याक पनि छुट्टै उपलब्ध हुनेछ ।

अनुवादको विकल्प च्याट इन्फो स्क्रिनमा राखिएको छ, जहाँ प्रयोगकर्ताले कुन भाषाबाट अनुवाद गर्ने भन्ने रोज्न सक्नेछन् । प्राइभेट र ग्रुप दुवै च्याटमा यो सुविधा छुट्टाछुट्टै प्रयोग गर्न सकिन्छ । चाहिँदा मेसेजलाई स्वतः अनुवाद गर्न सकिन्छ भने नचाहिँदा मेसेज खोलेर ‘Translate’ अप्सन थिचेर म्यानुअली पनि अनुवाद गर्न सकिन्छ ।

तर, क्लाउडमा आधारित सेवाजस्तै पूर्ण शुद्ध अनुवादको अपेक्षा भने नगर्न डब्लूएबेटाइन्फोले सुझाएको छ । किनभने यो अनुवाद मोबाइलमै साना प्याकमार्फत गरिने भएकाले केही त्रुटि हुन सक्नेछ । प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्न अनुवाद गरिएका वा पठाइएका मेसेज मेटासँग साझा गरिँदैन । तर, प्रयोगकर्ताले अनुवादको गुणस्तर सुधारका लागि फिडब्याक दिन सक्नेछन् ।


 

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १२:१८