close

के टिकटकमा लुकीलुकी अरूको प्रोफाइल हेर्न मिल्छ ?

टेकपाना टेकपाना

जेठ २८, २०८२ ९:५६

के टिकटकमा लुकीलुकी अरूको प्रोफाइल हेर्न मिल्छ ?

काठमाडौँ । पछिल्लो समय टिकटकमा ‘My Top Stalkers’ नामको इफेक्ट/फिल्टर प्रयोग भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन् । ‘मेरो प्रोफाइल कसले लुकीलुकी हेरेको छ ?’ भन्दै मनोरञ्जन वा जानकारीको रूपमा टिकटक बनाउने क्रम बढेको छ । यस्ता इफेक्ट वा फिल्टरहरू वास्तवमै तपाईंको प्रोफाइल कसले र कतिपटक हेरेको छ भनेर बताउने विश्वसनीय माध्यम हुन् त ? यस्ता ट्रेन्ड पछ्याउनुअघि त्यसको वास्तविकता र जोखिमबारे जान्नु जरूरी हुन्छ ।

टिकटकमा हाल देखिएको ‘My Top Stalkers’ भन्ने इफेक्ट कुनै आधिकारिक फिचर होइन । यो थर्ड पार्टी (तेस्रो पक्ष) बाट बनाइएको एक इफेक्ट हो । यसले प्रयोगकर्ताको प्रोफाइलमा बारम्बार जाने प्रयोगकर्ताहरूको नाम देखाउने नाटक गर्छ । वास्तवमा यो इफेक्ट रमाइलो र मनोरञ्जनको लागि बनाइएको हो । यसको पछाडि कुनै साइन्टिफिक गणना वा टिकटकको आधिकारिक डेटामा आधारित प्रक्रिया छैन । अर्थात्, यसले कुनै पनि नाम जथाभावी देखाउँछ । प्रयोगकर्ता आफैँले पनि रिजल्टमा देखाइएका नाम पत्याएको देखिँदैन ।

यो इफेक्ट यति छिटो भाइरल भइरहेको छ कि कतिपय प्रयोगकर्ताहरूले यसलाई आधार बनाएर आफ्ना साथीभाइ र फलोअरमाथि शंका गर्न थालेका छन् । यस्तो अवस्थामा बुझ्नुपर्ने कुरा के हो भने ‘My Top Stalkers’ जस्ता इफेक्ट केवल रमाइलो गर्ने ट्रेन्ड हुन्, वास्तविक होइनन् ।

साथै, यस्ता इफेक्टमार्फत कतिपय प्रयोगकर्ताहरूलाई तेस्रो पक्षका वेबसाइट वा एप डाउनलोड गराउन समेत प्रेरित गरिन्छ, जुन झन् खतरनाक हुन सक्छ । यस्ता वेबसाइट/एपले तपाईंको अकाउन्टको प्रयोगकर्ता नाम, पासवर्ड वा अन्य व्यक्तिगत जानकारी माग्न सक्छन् । यसबाट तपाईंको गोपनीयता उल्लंघन हुन सक्छ । केही केसहरूमा त प्रयोगकर्ताहरूको अकाउन्ट नै ह्याक भएको देखिएको छ ।

टिकटकले हालको अवस्थामा भने एउटा वास्तविक फिचर मात्रै प्रदान गरिरहेको छ । यसको नाम ‘Profile View History’ हो । यो फिचर इनेबल गरेमा तपाईंले पछिल्ला ३० दिनभित्र तपाईंको प्रोफाइल हेरेका प्रयोगकर्ताहरूलाई हेर्न सक्नुहुन्छ । यो फिचर सेटिङ्समा गएर ‘Privacy’ सेक्सनभित्र भेट्न सकिन्छ, जहाँ ‘Profile Views’ भन्ने अप्सन छ । त्यहाँबाट यसलाई अन/अफ गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो टिकटक प्रोफाइलमा कसले आइरहेको छ भनेर चिन्तित हुनुहुन्छ भने, ‘Profile View History’ फिचर नै सबैभन्दा भरोसायोग्य विकल्प हो । अन्य कुनैपनि इफेक्ट वा इफोटेन्मेन्टमा आधारित एपहरूमा भर पर्नु जोखिमपूर्ण हुन सक्छ ।

साथै, आफ्नो टिकटक प्रोफाइललाई प्राइभेट राख्न सकिन्छ, जहाँ तपाईं चाहेका व्यक्तिहरू मात्र तपाईंको भिडिओ र प्रोफाइल हेर्न पाउँछन् । यसले पनि तपाईंको गोपनीयता सुरक्षित गर्न सहयोग पुर्‍याउँछ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १०:७