काठमाडौं । टिकटकले ३२ जनासम्मको समूहलाई समेटेर च्याट गर्ने सुविधा थप गरेको छ । यो नयाँ सुविधाले मेसेन्जर र ह्वाट्सएपजस्ता लोकप्रिय मेसेजिङ एपलाई चुनौतीका रूपमा उभ्याउन सक्ने अनुमान गरिएको छ ।
टिकटकको यो सुविधा १६ वर्षभन्दा माथिका प्रयोगकर्ताका लागि उपलब्ध छ । यसबाट प्रयोगकर्ताहरूबीच च्याट गर्न तथा भिडिओहरू आफ्ना साथी र परिवारका सदस्यहरूलाई आदानप्रदान गर्न सकिन्छ ।
यसअघि टिकटक भिडिओ आफन्त, साथीभाइलाई पठाउन अन्य मेसेजिङ एपहरूको सहारा लिनुपर्ने झन्झट थियो । अब टिकटकले आफ्नै प्लेटफर्ममा यो सुविधा उपलब्ध गराएर प्रयोगकर्ताहरूलाई भिडिओ हेर्ने, कमेन्ट गर्ने तथा प्रतिक्रिया जनाउने मौका दिनेछ ।
ग्रुप च्याट सुरु गर्न प्रयोगकर्ताले इनबक्सको माथि रहेको 'च्याट' बटनमा ट्याप गर्नुपर्छ । त्यसपछि ३१ जनासम्म साथीहरू छानी 'स्टार्ट ग्रुप च्याट'मा ट्याप गरेर ग्रुप च्याट सुरु गर्न सकिन्छ । यदि 'इन्भिटेसन' मार्फत ग्रुप च्याटमा सामेल हुन चाहनुहुन्छ भने 'इन्भिटेसन' मा ट्याप गरेर 'ज्वाइन ग्रुप'मा ट्याप गर्नुपर्छ ।
टिकटकको ग्रुप च्याटमा जोडिन त्यहाँ भएकाहरूमध्ये एक जनासँग भए पनि म्युचुअल फ्रेन्ड भएको हुनुपर्ने बताइएको छ ।
१८ वर्ष मुनिका प्रयोगकर्ताका लागि ग्रुपमा सहभागी हुन थप नियमहरू लागू हुनेछन् । उनीहरूले आफ्नो ग्रुपमा सामेल हुने व्यक्तिहरूलाई एसेप्ट गर्नुपर्ने छ ।
यो नयाँ सुविधामार्फत कम्पनीले टिकटकलाई केवल मनोरञ्जनको प्लेटफर्ममा मात्र सीमित नराखी साथीहरूसँग कुराकानी गर्ने सामाजिक प्लेटफर्मका रूपमा पनि स्थापित गर्न खोजेको देखिन्छ ।
यसैबीच टिकटकले डाइरेक्ट मेसेजेज फिचरमा कस्टम स्टिकरहरू क्रियट गर्न तथा शेयर गर्न मिल्ने अर्को सुविधा पनि थप्ने तयारी गरेको छ ।