close

प्रतिबन्ध फुकुवापछि टिकटकले नेपाल सरकारलाई बुझायो पहिलो प्रगति प्रतिवेदन

टेकपाना टेकपाना

असार २, २०८२ १८:६

प्रतिबन्ध फुकुवापछि टिकटकले नेपाल सरकारलाई बुझायो पहिलो प्रगति प्रतिवेदन

काठमाडौँ । नेपालमा प्रतिबन्ध फुकुवा भएपछि टिकटकले पहिलो पटक आफ्नो प्रगति विवरण सरकारलाई बुझाएको छ । टिकटकले २१ मे (७ जेठ) मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आफ्नो प्रगति रिपोर्ट बुझाएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टिकटकले नेपाली प्रयोगकर्तालाई सुरक्षित प्रयोगको अनुभव दिन आफ्नो टोलीमा नेपाली भाषी सदस्यहरू थपेको छ । यस्तै अक्टोबर २०२४ मा नेपालमा दर्ता हुनुका साथै नेपालका लागि सम्पर्क विन्दु समेत तोकेको रिपोर्टमा उल्लेख छ । 

रिपोर्ट अनुसार आफ्नो कार्यसम्पादन क्षमता बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय र साइबर ब्युरोसँग संयुक्त ज्ञान आदानप्रदान सत्रहरू सञ्चालन गर्नुका साथै नेपाल प्रहरीको साइबर ब्युरोलाई टिकटकको सरकारी प्रतिवेदन च्यानलमा पहुँच उपलब्ध गराएको छ । 

यस्तै सयभन्दा धेरै साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसायलाई टिकटकमार्फत कसरी बढाउन सकिन्छ भन्नेमा टिकटकका फिचर र विज्ञापन टुलहरूको बारेमा जानकारी दिइएको छ । टिकटकले गत डिसेम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग मिलेर नेपाल डिजिटल सेफ्टी समिट-२०२४  आयोजना गरेको थियो । 

उक्त समिटमा सरकार, सञ्चार माध्यम, गैरसरकारी संस्था तथा कन्टेन्ट क्रियटरहरूलाई एक ठाउँमा ल्याएर डिजिटल सुरक्षाको बारेमा जानकारी दिइएको थियो । इन्टरनेट सुरक्षाको बारेमा विद्यार्थी, शिक्षक र अभिभावकमा सचेतना बढाउन “चाइल्ड सेफ नेट” नामक नेपाली गैरसरकारी संस्थासँग मिलेर काम गरेको बताइएको छ । उक्त सहकार्यले एक हजार ९६० विद्यार्थी, ४२० अभिभावक र ४२० शिक्षक लाभान्वित भएका छन् । 

अनलाइन दुर्व्यवहार, भ्रामक सूचना, डिजिटल ठगी जस्ता सुरक्षा चुनौतीको समाधानका लागि डिसेम्बर २०२४ मा ‘सेफ्टी एम्बास्डर प्रोग्राम’ समेत सुरु गरिएको टिकटकले जनाएको छ । यसका लागि फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा), अभिनेत्री प्रियङ्का कार्कीसहित १६ जना इन्फ्लुयन्सरसँग मिलेर डिजिटल सुरक्षाका विषयमा सचेतना फैलाउने काम गरिएको उल्लेख छ । 

टिकटकको कन्टेन्ट नियन्त्रण, एल्गोरिदम, पारदर्शिता, गोपनीयता, डेटा सुरक्षा, नाबालकका लागि सुरक्षाका भौतिक सेवाहरू समेत उपलब्ध गराउन पारदर्शी तथा जवाफदेही केन्द्र  (Transparency & Accountability Center -TAC) रहेको टिकटकले जानकारी दिएको छ । यस्ता केन्द्र लस एन्जल्स, वासिङ्टन डीसी, डुब्लिन र सिङ्गापुरमा रहेका छन् । 

टिकटकका अनुसार नेपाल सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सञ्चारकर्मीलाई फेब्रुअरी २०२५ मा सिङ्गापुरस्थित केन्द्र भ्रमण गराइएको थियो । यस्तै अप्रिल २०२५ मा नेपाल सुपर लिग (एनएसएल) सँग समेत सहकार्य गरेको प्रतिवेदनमा उल्लेख छ । 

सुरक्षित अनलाइन वातावरण निर्माणका लागि मे २०२५ मा ‘फेमिलि पेयरिङ’ फिचरसमेत ल्याएको टिकटकले टेलिभिजन, अनलाइनका साथै बाह्य विज्ञापन गरेर तथा २५ जना नेपाली इन्फ्लुयन्सरसँग मिलेर नेपालीमा जिम्मेवार डिजिटल बानी र डिजिटल सन्तुलनको प्रवर्धन गरेको जनाएको छ । 

यस्तै टिकटकले भ्रामक सूचना कसरी पहिचान गर्छ र हटाउँछ भनेर पत्रकारिताका विद्यार्थीका लागि कार्यशाला सञ्चालन गरेको समेत उल्लेख छ । कार्यशालामा जिम्मेवारपूर्ण तरिकाले समाचार कसरी तयार गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो । 

प्रतिबन्ध फुकुवापछि नेपाल सरकारसँग भएको सम्झौता अनुरूप कम्पनीले नेपाली टिकटक प्रयोगकर्ताहरूको सुरक्षित टिकटक अनुभवलाई सुनिश्चित गरेको रिपोर्टमा उल्लेख छ ।

सामाजिक सद्‍भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै कात्तिक २०८० मा नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । त्यसको करिब १० महिनासम्म प्रतिबन्धित रहन पुगेको टिकटक ६ भदौ २०८१ को मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार फुकुवा भएको थियो । 

टिकटक फुकुवा गर्दा सरकारले टिकटक सूचीकृत हुनुपर्ने, सम्पर्क विन्दु तोक्नु पर्ने, नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनु पर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन र प्रविधिमैत्री बनाउन सहयोग गर्नुपर्ने, नेपाली र नेपालमा बोलिने अन्य भाषा फिल्टर गर्नुपर्ने लगायतका सर्त राखिएको थियो ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १८:५१