काठमाडौँ । सम्पत्ति शुद्धिकरण र आपराधिक लाभको मुद्दामा पक्राउ परेकी टिकटकर तुलसा अधिकारीको टिकटक अकाउन्ट गायब भएको छ । @tulsacollection युजरआईडी रहेको उक्त अकाउन्ट टिकटकमा एक्कासि देखिन छोडेको हो ।
ठगी, आपराधिक लाभ (एक्सटर्सन) र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), साइबर अपराध जस्ता कसुरमा मुद्दा खेपिरहेकी अधिकारी शनिबार थाइल्यान्डबाट पक्राउ परेका थिइन् । शनिबार राति नै नेपाल ल्याएर उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।
सम्पत्ति सुद्धिकरण र ठगीसम्बन्धी कसुर विरुद्धको मुद्दा अदालतमा दर्ता भएको र सोही अनुसार अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुमार चिमोरियाको जाहेरीका आधारमा अधिकारीविरुद्ध ठगी र आपराधिक लाभको कसुरमा गत २२ साउनमा जाहेरी दर्ता भई अनुसन्धान अघि बढेको थियो । सोही क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्राप्त सुझाव र जाहेरीका आधारमा उनीमाथि मनि लाउन्डरिङको पाटोबाट पनि छानबिन सुरु गरिएको हो ।
नवलपरासी पूर्वको सुनवल नगरपालिका ६ की अधिकारीले सम्बद्ध कसुरबाट प्राप्त गरेको सम्पत्तिको रूपान्तरण र हस्तान्तरण गरेको विषयमा प्रमाण सङ्कलनको काम समेत प्रहरीले गरिरहेको छ । यता अधिकारी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा अर्को छुट्टै साइबर अपराधको मुद्दा समेत दायर भएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर एक महिला र उनको परिवारलाई चरित्रहत्या गरेको आरोपमा ११ वैशाख २०८३ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अभियोग पत्र दायर गरेको थियो । उक्त अभियोग पत्रमा सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेर पीडितको बारेमा झुटा प्रचार गरेको, मान मर्दन गरेको, घृणा फैलाइएको जस्ता आरोप लगाइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ १७:५२
