शार्क ट्यांक नेपाल: उद्यमीका कथा र शोका विशेष क्षणहरू टिकटकमा हेर्न पाइने
साउन २, २०८२ १०:१२
काठमाडौँ । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटक नेपालमा पहिलो पटक सञ्चालन भएको ‘शार्क ट्यांक नेपाल’ को आधिकारिक इन्टरनेनमेन्ट पार्टनर बनेको छ । योसँगै नेपाली उद्यमीहरूका नवीन सोच र लगानीका क्षणहरू टिकटकमा विशेष रूपमा प्रस्तुत हुने बताइएको छ ।
विश्वव्यापी रूपमा सफल ‘शार्क ट्यांक’ को नेपाली संस्करणले स्थानीय उद्यमीहरूलाई अनुभवी लगानीकर्ता (शार्क) हरूको प्यानलसामु आफ्ना व्यावसायिक आइडिया प्रस्तुत गर्ने अवसर दिएको छ । यसबाट उनीहरूले लगानी, मार्गदर्शन र राष्ट्रिय स्तरमा पहिचान बनाउने मौका पाएका छन् ।
टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स प्रमुख उमैस नविदले भने, “यो सहकार्यले नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्याउने विश्वास हामीले लिएका छौँ ।”
शार्क ट्यांकको फ्रेन्चाइजी लिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले टिकटकसँगको सहकार्यले शोको पहुँच युवा उद्यमी र दर्शकमाझ पुग्न सहज हुने बताए । “टिकटक मार्फत हामी युवापुस्तासँग सिधा संवाद गर्न सक्छौं, जसले व्यावसायिक सोचलाई अझ सरल र प्रेरणादायी बनाउँछ,” उनले भने ।
साझेदारीअन्तर्गत शोका सम्पूर्ण ‘शार्क’ हरू टिकटकमा सक्रिय भइसकेका छन्, जहाँ उनीहरूले आफ्ना अनुभव र व्यावसायिक सुझावहरू बाँडिरहेका छन् । टिकटकमा सिजनभरि पर्दापछाडिका दृश्य, विशेष अन्तर्वार्ता र शोका मुख्य क्षणहरू समावेश गरिएका सामग्रीहरू प्रस्तुत गरिनेछ ।
पछिल्लो अध्यावधिक: साउन २, २०८२ १३:२२
