close

स्न्यापच्याटमा नयाँ ‘होम सेफ’ फिचर, साथी वा परिवारका सदस्यलाई तपाईँ घर पुगेको खबर स्वतः जाने

टेकपाना टेकपाना

साउन ९, २०८२ १४:३४

स्न्यापच्याटमा नयाँ ‘होम सेफ’ फिचर, साथी वा परिवारका सदस्यलाई तपाईँ घर पुगेको खबर स्वतः जाने

 

काठमाडौँ । युवा पुस्तामाझ लोकप्रिय सामाजिक सञ्जाल तथा मेसेजिङ एप स्न्यापच्याटले आफ्ना प्रयोगकर्ताहरूका लागि साथीभाइ र परिवारलाई आफू सुरक्षित घर पुगेको जानकारी गराउनका लागि ‘होम सेफ’ (Home Safe) नामक नयाँ फिचर सार्वजनिक गरेको छ । सुरक्षा केन्द्रित यो सुविधा बिहीबार घोषणा गरिएको हो ।

स्न्यापच्याटको यो फिचरले चाहे तपाईँ पहिलो डेटबाट फर्किनु होस्, भिडभाडयुक्त कन्सर्टबाट आउनु होस् वा सप्ताहन्तको छुट्टीपछि घर फर्किनु होस्, तपाईँका नजिकका साथी वा परिवारका सदस्यलाई मानसिक शान्ति दिनेछ ।

कसरी प्रयोग गर्ने ‘होम सेफ’ फिचर ?

यो सुविधा प्रयोग गर्न सरल छ । सबैभन्दा पहिला एप खोल्नुहोस् र त्यसभित्र रहेको स्न्याप म्याप (Snap Map) मा आफ्नो बिटमोजी (Bitmoji) मा ट्याप गर्नुहोस् । 

अब माई होम (My Home) मा जानुहोस् । त्यहाँबाट आफ्नो घरको लोकेसन सेटअप गर्नुहोस् ।


 

जब तपाईँ बाहिर जानुहुन्छ र घर पुगेपछि कुनै साथीलाई सूचित गर्न चाहनुहुन्छ भने सम्बन्धित व्यक्तिसँगको च्याट खोल्नुहोस् । 

त्यसपछि म्याप आइकनमा ट्याप गर्नुहोस् र अन्तिममा रहेको होम सेफ (Home Safe button) थिच्नुहोस् । यति गरेपछि तपाईँ घर पुग्ने बित्तिकै तपाईँको साथीलाई च्याटमा अटोमेटिक अलर्ट जानेछ ।

स्न्यापच्याटले गोपनीयतालाई ध्यानमा राखेर यो फिचर डिजाइन गरेको हो । यो सुविधा केवल ती साथीहरूका लागि उपलब्ध छ, जससँग तपाईँले पहिले नै आफ्नो लोकेसन शेयर गर्नुभएको छ । स्न्याप म्यापमा लोकेसन शेयरिङ डिफल्ट रूपमा बन्द गरिएको हुन्छ । यसको अर्थ तपाईँले लोकेसन शेयर गर्ने विकल्प छनौट नगरेसम्म कसैले पनि तपाईँको लोकेसन हेर्न वा होम सेफ अलर्ट प्राप्त गर्न सक्दैन ।

स्न्याप म्यापमा ४० करोड बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको बताइन्छ । सन् २०१७ मा सार्वजनिक गरिएको स्न्याप म्याप सुरुमा प्रयोगकर्ताहरूलाई आफ्ना साथीहरूको लोकेसन हेर्न र विश्वभरका सार्वजनिक स्न्यापहरू ब्राउज गर्नका लागि एक माध्यमको रूपमा रहेको थियो । समयसँगै यो सुविधा विकसित हुँदै गएको छ र अब यसले प्रयोगकर्ताहरूलाई स्थानीय हटस्पटहरू पत्ता लगाउन र विभिन्न गतिविधिहरू खोज्नका लागि पनि मद्दत गर्छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १४:३४