close

सरकारले टेलिग्राममाथि प्रतिबन्ध लगाउँदा नेपालमा १५ प्रतिशतसम्म बढ्यो भीपीएन ट्राफिक

टेकपाना टेकपाना

साउन १४, २०८२ १८:३५

सरकारले टेलिग्राममाथि प्रतिबन्ध लगाउँदा नेपालमा १५ प्रतिशतसम्म बढ्यो भीपीएन ट्राफिक

काठमाडौँ । सरकारले मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाउँदा नेपालको क्लाउटफ्लेयर ट्राफिक झन्डै १५ प्रतिशतसम्मले बढेको छ ।

अनलाइन ठगी, मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) जस्ता गम्भीर आपराधिक गतिविधिमा यसको प्रयोग बढेको भन्दै सरकारले साउन २ गतेदेखि टेलिग्राम एप चल्न रोक लगाएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पत्राचारपछि नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन फ्रडको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएको भन्दै टेलिग्राम एप बन्द गर्न दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो ।

टेलिग्राममाथि प्रतिबन्ध लगाएपछि नै नेपालको क्लाउडफ्लेयर ट्राफिक बढेको एक आईएसपीका प्राविधिकले जानकारी दिए ।

“क्लाउफ्लेयर ट्राफिक भनेको इन्टरनेट डेटा आदानप्रदान हुने बाटो क्लाउडफ्लेयर नेटवर्कबाट रुट गराउनु हो । क्लाउडफ्लेयर कन्टेन्ट डेलिभरी नेटवर्क र सुरक्षा सेवा प्रदायक हो । यसले कुनै वेबसाइट वा एप र त्यसका प्रयोगकर्ताबिचमा रहेको हुन्छ । 

सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएपछि त्यसका प्रयोगकर्ताहरूले भीपीएन वा अन्य प्रोक्सी सेवामार्फत चलाइरहेका छन् । क्लाउडफ्लेयर नेटवर्कको मद्‍दतले प्रतिबन्ध बाइपास गरेर टेलिग्राम प्रयोग भइरहेको देखिन्छ,” ती प्राविधिकले भने ।

सरकारले यसअघि चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउँदा जस्तो यसपटक दूरसञ्चार सेवा प्रदायकहरूलाई ब्यान्डविथ खपतमा असर परेको छैन । किनभने टेलिग्रामले न्यून ट्राफिक/ब्यान्डविथ खपत गर्दै आएको थियो ।

तर, प्रतिबन्ध लगाउनु अघि क्लाउडफ्लेयर भीपीएनको ट्राफिक ८०० एमबीपीएस रहेकामा प्रतिबन्धपछि १ जीबीपीएस पुगेको वर्ल्डलिंकका एक प्राविधिकले जानकारी दिए ।

“टेलिग्राम प्रतिबन्ध भएपछि हाम्रो क्लाउडफ्लेयर भीपीएन ट्राफिक करिब २०० एमबीपीएसले बढेको तथ्यांक छ । हाम्रो बजार हिस्सा ३५ प्रतिशतअनुसार यो अवस्था देखियो,” ती प्राविधिकले भने ।

यदि सबै सेवा प्रदायकबाट सोही अनुपातमा ट्राफिक बढेको मान्ने हो भने क्लाउडफ्लेयरमार्फत हुने कुल भीपीएस ट्राफिक करिब २.८ देखि ३ जीबीपीएस पुगेको हुन सक्ने ती प्राविधिकले अनुमान गरे । नेपालमा टेलिग्रामको लोकल क्यास छैन । टेलिग्राममाथि प्रतिबन्ध लगाउनु अघि टेलिग्रामको ट्राफिक नेपालमा करिब २८ जीबीपीएस थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी कसुर निवारणसम्बन्धी राष्ट्रिय समन्वय समितिले सञ्चार मन्त्रालयलाई टेलिग्राम बन्द गराउन पत्राचार गरेको थियो । 

ठगी, सट्टेबाजीसहित सम्पत्ति शुद्धीकरणका घटनाहरूमा टेलिग्राम अधिक प्रयोग भइरहेको रिपोर्टिङ नेपाल प्रहरीले समेत सो समितिमा गराउँदै आएको थियो । त्यसपछि सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको हो ।

पछिल्लो अध्यावधिक: साउन १४, २०८२ १८:३६