close

फायरफक्स ब्राउजरमा प्राइभेट ट्याब बायोमेट्रिक लक गर्न सकिने, गोपनीयता खोज्नेलाई ढुक्क !

टेकपाना टेकपाना

साउन १६, २०८२ २१:७

फायरफक्स ब्राउजरमा प्राइभेट ट्याब बायोमेट्रिक लक गर्न सकिने, गोपनीयता खोज्नेलाई ढुक्क !

काठमाडौँ । अब एन्ड्रोइड प्रयोगकर्ताले फायरफक्स वेब ब्राउजरमा प्राइभेट ट्याब लुकाउन सक्ने भएका छन् । कम्पनीले प्रयोगकर्ताको गोपनीयतामा थप सुरक्षा प्रदान गर्न भन्दै प्राइभेट ट्याबहरूलाई बायोमेट्रिक लक गरेर लुकाउने सुविधा ल्याएको हो ।

यो सुविधाले प्रयोगकर्ताका निजी ट्याबहरूको गोपनीयतालाई उल्लेखनीय रूपमा बढाउँनेछ । जब तपाईँ प्राइभेट विन्डोबाट बाहिर निस्कनुहुन्छ वा फायरफक्सलाई पूर्ण रूपमा बन्द गर्नुहुन्छ, ब्राउजरले त्यस्ता ट्याबहरूलाई स्वचालित रूपमा लक गर्छ ।

अर्को पटक प्राइभेट ट्याबहरूमा पहुँच गर्नका लागि प्रयोगकर्ताले फिङ्गरप्रिन्ट, फेस आईडी वा पिन प्रयोग गरी प्रमाणीकरण गर्नुपर्ने हुन्छ । यो सुविधाका कारण यदि तपाईँको फोन अनलक छ भने पनि तपाईँका प्राइभेट ट्याबहरू सुरक्षित रहन्छन् ।

प्राइभेट ट्याबहरू 'अनपेक्षित' सामग्रीका लागि मात्र नभई आफ्ना प्रियजनका लागि गोप्य उपहार खोज्न, वेबसाइटमा लग-आउट नगरी भिजिट गर्न, अनुसन्धान गर्न वा नियमित ब्राउजिङ हिस्ट्रीसँग लिंक गर्न नचाहनेहरूका लागि पनि उपयोगी हुन सक्छन् ।

यो सुविधा हाललाई एन्ड्रोइडमा एपका लागि मात्र उपलब्ध छ । मोजिलाले चाँडै नै आईफोनमा पनि यसलाई विस्तार गर्ने बताएको छ ।

कसरी प्रयोग गर्ने प्राइभेट ट्याब लक गर्ने फिचर ?

यसका लागि सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड ब्राउजरमा रहेको फायरफक्स एप अपडेट गर्नुहोस् । त्यसपछि फायरफक्स खोल्नुहोस् र तीन-थोप्ला भएको मेनुमा ट्याप गर्नुहोस् । त्यहाँबाट सेटिङमा गएर प्राइभेट ब्राउजिङ (Private Browsing) भित्र प्रवेश गर्नुहोस् र 'युज स्क्रिन लक टु हाइड ट्याब्स इन प्राइभेट ब्राउजिङ' (Use Screen Lock to Hide Tabs in Private Browsing) भन्ने विकल्पलाई अन गर्नुहोस् । यति गरेपछि सेटिङको काम पुरा हुन्छ र अब प्राइभेट ट्याबहरू खोल्न तपाईँलाई बायोमेट्रिक अनलक गर्नुपर्नेछ । 

पछिल्लो अध्यावधिक: साउन १६, २०८२ २१:७