close

मेरो मन्त्रालयमा विज्ञान र नवप्रवर्तन बुझेको योग्य सचिव चाहियो, सहयोग पाउँ: मन्त्री पुन

टेकपाना टेकपाना

असार १३, २०८३ १४:४८

मेरो मन्त्रालयमा विज्ञान र नवप्रवर्तन बुझेको योग्य सचिव चाहियो, सहयोग पाउँ: मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयका लागि नयाँ सचिवको खोजी कार्य सुरु भएको जानकारी दिएको छ । हाल कार्यरत सचिव प्रमिलादेवी शाक्य बज्राचार्यको कार्यकाल सकिएर बुधबारदेखि अवकाश लिन लागेकाले नयाँ सचिव चयनको प्रक्रिया अघि बढाइएको हो ।

मन्त्री पुनका अनुसार मन्त्रालयलाई विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा अनुभव भएको सचिवको आवश्यकता रहेको छ ।

उनले फेसबुकमा पोस्ट राख्दै भनेका छन्, “...यस मन्त्रालयलाई विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्न सक्ने सचिव चाहिएको छ । सोका लागि विभिन्न माध्यमबाट योग्य सचिवको खोजी हुँदैछ । यस कार्यमा सहयोगको अपेक्षा राख्दछु ।”

नयाँ सचिवको नियुक्ति प्रक्रियाका विषयमा स्पष्ट पार्दै मन्त्री पुनले बाहिरबाट नभई सरकारी सेवामै रहेका बहालवाला कर्मचारीमध्येबाटै सचिव चयन गरिने जानकारी दिए । यसअघि नवप्रवर्तनका लागि बाहिरका विज्ञ ल्याउन सकिने चर्चा चले पनि विद्यमान कानुनअनुसार सरकारी कर्मचारी संयन्त्रभित्रैबाट उपयुक्त उम्मेदवार छनोट गरिने उनको भनाइ छ ।

नयाँ सचिव छनोटको तयारीबारे पुनले टेकपानासँग भने, “हामीले सरकारी सेवाभित्रै रहेका योग्य साथीको खोजी गरिरहेका छौँ । यसका लागि धेरै जना जानकार तथा सरोकारवाला व्यक्तिसँग परामर्श र समन्वय भइरहेको छ ।”

पछिल्लो अध्यावधिक: असार १३, २०८३ १४:४८