close

अवरुद्ध भएको नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा पुनः सञ्चालनमा

टेकपाना टेकपाना

असार १३, २०८३ १६:३९

अवरुद्ध भएको नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा पुनः सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा पुन: सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय सेवा प्रदायकसँगको समन्वय र आवश्यक प्राविधिक कार्यपछि सेवा पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ । 

अन्तर्राष्ट्रिय सेवा प्रदायकको सिङ्गापुरस्थित फाइबर केबलमा आएको खराबीका कारण शुक्रबार टेलिकमको रोमिङ सेवामा अवरोध आएको थियो । जसका कारण विदेश भ्रमणमा रहेका र विदेशमा बसोबास गर्ने नेपाली ग्राहक आफ्नै सिमबाट कल गर्न, एसएमएस आदानप्रदान गर्न र डेटा प्रयोग गर्नबाट वञ्चित भएका थिए । 

टेलिकमले एक सूचना जारी गर्दै सेवामा आएको अवरोधका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । 

अन्तर्राष्ट्रिय रोमिङ सेवाअन्तर्गत विदेशमा रहेका टेलिकमका ग्राहकले आफ्नै नम्बरबाट बैंकिङ ओटीपी प्राप्त गर्न, कल गर्न र इन्टरनेट डेटा चलाउन सक्नेछन् । टेलिकमले हाल भारत, चीन, अमेरिका, अस्ट्रेलियासहित ६२ भन्दा बढी देशहरूमा प्रिपेड तथा पोस्टपेड रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


 

पछिल्लो अध्यावधिक: असार १३, २०८३ १६:४१