close

कस्तो छ, ७५ लाख मूल्य पर्ने एमजीको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आईएम सिक्स’ ?

टेकपाना टेकपाना

साउन १८, २०८२ १०:१८

कस्तो छ, ७५ लाख मूल्य पर्ने एमजीको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आईएम सिक्स’ ?

काठमाडौँ । एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आईएम सिक्स’ (IM 6) भित्र्याएको छ । नेपाली बजारमा यो ईभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

आईएम (इन्टेलिजेन्स इन मोसन) एमजीको प्यारेन्ट कम्पनी साइक (SAIC) मोटर अन्तर्गतको एक प्रिमियम विद्युतीय सवारी ब्रान्ड हो । ‘आईएम सिक्स’ लाई अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनको संयोजनका रूपमा कम्पनीले प्रस्तुत गरेको छ ।

एमजी आईएम सिक्समा ७५ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ४५० किलोमिटरको रेन्ज (डब्लूएलटीपी) प्रदान गर्दछ । गाडीमा रहेको १०९ किलोवाट क्षमताको मोटरले उत्कृष्ट पावर र टर्क उत्पन्न गर्ने कम्पनीको दाबी छ ।

यो गाडीलाई डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल २० मिनेट लाग्ने बताइएको छ । यसले १५३ किलोवाटसम्मको डीसी चार्जिङ सपोर्ट गर्छ । साथै, गाडीसँगै ७ किलोवाटको वाल-माउन्ट चार्जर पनि उपलब्ध गराइनेछ ।

कम्पनीका अनुसार गाडीमा रहेको फोर-ह्विल स्टेरिङ सिस्टम (क्र्याब मोड) ले साँघुरो ठाउँमा गाडी मोड्न र पार्किङ गर्न सहज बनाउँछ । यसको टर्निङ रेडियस जम्मा ५.०९ मिटर रहेको छ ।

त्यस्तै अटोमेटिक पार्किङको सुविधाले चालकलाई पार्किङको झन्झटबाट मुक्त गर्छ । साथै ७.१.४ स्पासियल अडियो, २० ओटा स्पिकर र ४ ओटा स्काई स्पिकर भएको यसको साउन्ड सिस्टमले यात्रालाई मनोरञ्जनात्मक बनाउने कम्पनीको विश्वास छ । गाडीका सिटहरू हिटिङ, भेन्टिलेसन र ड्राइभर सिट ब्याक रिल्याक्स जस्ता सुविधाले युक्त छन् ।

नेपाली सडकलाई मध्यनजर गर्दै यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको कम्पनीको भनाइ छ ।

टेकपानासँग कुराकानीमा पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीले ‘ आईएम सिक्स’ प्रविधि र गुणस्तरको हिसाबले उत्कृष्ट रहेको बताए । “आईएम साइक मोटरको प्रिमियम ब्रान्ड हो र हामीले एमजीमार्फत यसलाई प्रस्तुत गरेका छौं । हामी बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको उपलब्धतामा पूर्ण रूपमा तयार छौं । हाम्रा प्राविधिकहरूले चीनमा गएर विशेष तालिम लिइसकेका छन्, त्यसैले ग्राहकहरू विश्वस्त हुन सक्नुहुन्छ,” उनले भने ।

कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिने भएको छ  । त्यस्तै तीन वर्ष वा १ लाख किलोमिटर र गाडीमा एक वर्षको वारेन्टी दिने बताएको छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८२ १०:३६