एमेच्योर रेडियो सञ्चालन मापदण्ड, लाइसेन्स परीक्षादेखि फ्रिक्वेन्सी प्रयोगमा यस्तो छ व्यवस्था
साउन १८, २०८२ १८:१४
काठमाडौँ । सरकारले एमेच्योर रेडियो सञ्चालन मापदण्ड (अपरेटिङ स्ट्यान्डर्ड) लागु गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमेच्योर रेडियो कन्ट्रोल अपरेटर तथा सञ्चालकको लाइसेन्सको तह र श्रेणी निर्धारण, परीक्षा प्रणाली, रेडियो फ्रिक्वेन्सीको प्रयोग र अपरेटिङ स्ट्यान्डर्ड तय गर्न आवश्यक भएको भन्दै मापदण्ड लागु गरेको हो ।
व्यक्तिगत लाभको उद्देश्य नराखी रेडियो प्रविधिसम्बन्धी आत्मशिक्षा तथा अन्वेषणको उद्देश्यले लाइसेन्स प्राप्त व्यक्तिहरुबिच सञ्चार आदानप्रदान गर्न प्रयोग गरिने रेडियो यन्त्रलाई एमेच्योर रेडियो भनिन्छ ।
मापदण्डले एमेच्योर रेडियो कन्ट्रोल अपरेटर र सञ्चालकको परिभाषा गरेको छ । एमेच्योर रेडियो सञ्चालनका लागि उपकरणसहितको लाइसेन्स प्राप्त व्यक्तिलाई एमेच्योर रेडियो कन्ट्रोल अपरेटर मानेको छ । यस्तै, रेडियो सञ्चालनको लागि उपकरणबाहेकको लाइसेन्स प्राप्त व्यक्तिलाई एमेच्योर रेडियो सञ्चालक भनेर मापदण्डले परिभाषा गरेको छ ।
अब मन्त्रालयले अपरेटर वा सञ्चालकको लाइसेन्स दिन तथा स्तरवृद्धि गर्न सञ्चार मन्त्रालयले हरेक आर्थिक वर्षमा परीक्षा सञ्चालन गर्नेछ । उक्त परीक्षा सञ्चालन गर्न मापदण्डले फ्रिक्वेन्सी व्यवस्थापन महाशाखाका प्राविधिक सहसचिवलाई संयोजक तोक्दै अन्य पाँच जना सदस्य रहेको परीक्षा व्यवस्थापन समितिको परिकल्पना गरेको छ ।
सदस्यहरूमा फ्रिक्वेन्सी व्यवस्थापन तथा विश्लेषण शाखाका प्राविधिक उपसचिव, आर्थिक प्रशासन शाखाका लेखा अधिकृत सदस्य रहनेछन् ।
विज्ञ, एमेच्योर रेडियो कन्ट्रोल अपरेटर/सञ्चालक, नेपाल प्रहरीको अधिकृतस्तरको प्राविधिक प्रतिनिधि, सूचना तथा प्रसारण विभागको अधिकृतस्तरको प्राविधिक प्रतिनिधि सदस्य रहनेछन् भने मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन महाशाखाका इलेक्ट्रोनिक इन्जिनियर सदस्य सचिव रहने व्यवस्था मापदण्डले गरेको छ ।
समितिले एमेच्योर रेडियोसम्बन्धी पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने, प्रश्नपत्र निर्माण तथा परिमार्जन गर्ने, परीक्षा सञ्चालन गर्न जनशक्ति व्यवस्थापन गर्ने, उत्तरपुस्तिका परीक्षण गराउने, परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य र त्यसको नतिजा प्रशासन गरी लाइसेन्सका लागि सूचना तथा प्रसारण विभागमा सिफारिस गर्नेछ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको रेडियो रेगुलेसन्सको फ्रिक्वेन्सी बाँडफाँट सूचीमा एमेच्योर, फिक्स्ड, मोबाइललाई प्राइमरी बेसिस समानरुपमा रहेका फ्रिक्वेन्सी ब्यान्डहरु मन्त्रालयको स्वीकृतिमा एमेच्योर रेडियो सञ्चालनका लागि प्रयोग गर्न पाइने मन्त्रालयले जनाएको छ । सेकेन्डरी बेसिसमा रहेका फ्रिक्वेन्सी ब्यान्डहरुको प्रयोग गर्दा अन्य प्राइमरी बेसिसमा रहेका सेवााई प्राथमिकता दिनुपर्ने मापदण्डमा उल्लेख छ । यसरी प्रयोग गर्दा अन्य प्रयोगकर्तालाई बाधा पारेमा फ्रिक्वेन्सीको प्रयोग तुरुन्त बन्द गर्नुपर्ने व्यवस्था मापदण्डले गरेको छ ।
यो सेवा नेपाली नागरिकसँगै गैरआवासीय नेपाली र विदेशी नागरिकले पनि प्रयोग गर्न पाउने छन् । जसका लागि फरक फरक कलसाइनको व्यवस्था गरिएको छ । मन्त्रालयले एमेच्योर रेडियो सञ्चालकहरूको संस्था वा संस्थागत विद्यालय, महाविद्यालय आदि शिक्षण संस्था, स्काउट, रेडक्रस चिकित्सा केन्द्रलाई एमेच्योर रेडियो क्लबको रूपमा समेत काम गर्न स्वीकृति दिन सक्छ ।
पछिल्लो अध्यावधिक: साउन १८, २०८२ १८:१४
