close

पब्जी विश्वकपमा नेपाल नवौं, होरा ईस्पोर्ट्सले जित्यो १ करोड ७८ लाख

टेकपाना टेकपाना

साउन १८, २०८२ २१:३८

पब्जी विश्वकपमा नेपाल नवौं, होरा ईस्पोर्ट्सले जित्यो १ करोड ७८ लाख

काठमाडौँ । नेपाली पब्जी टिम ‘होरा ईस्पोर्ट्स’ले पब्जी मोबाइल विश्वकप (पीएमडब्लूसी) मा नवौं स्थान हासिल गरेको छ । पहिलो पटक ईस्पोर्स्ट्स विश्वकपमा सहभागी भएको नेपाली टोलीले प्रतियोगिताका विभिन्न चरणबाट कूल एक लाख २७ हजार ५०० अमेरिकी डलर (करिब एक करोड ७८ लाख नेपाली रुपैयाँ) पुरस्कार राशि जितेको हो ।

साउदी अरेबियामा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा होरा ईस्पोर्ट्सले विश्वका उत्कृष्ट १५ टोलीसँग प्रतिस्पर्धा गरेको थियो । टोलीले ग्राण्ड फिनालेमा नवौं स्थान हासिल गरे बापत ६० हजार डलर, यसअघि सर्भाइभल स्टेजमा पहिलो हुँदै २५ हजार डलर, ग्रुप स्टेजमा तेह्रौं स्थानमा रहेर २७ हजार ५०० डलर तथा एउटा सो-म्याच जितेर १० हजार डलर पुरस्कार हात पारेको हो । होरा ईस्पोर्ट्स टिममा खेलाडीहरू जिगल, नो फियर, स्काई र स्लिपी सहभागी थिए ।

नेपाल पब्जी मोबाइल विश्वकपमा छनोट भएको यो पहिलो पटक हो । यस वर्षको विश्वकपको उपाधि भने म्यानमारको टोली ‘याङ्गोन ग्यालेक्टिकोस’ले जितेको छ । उसले १५७ अङ्क र चार ‘चिकेन डिनर’ सहित उपाधि र पाँच लाख अमेरिकी डलर पुरस्कार हात पार्यो । प्रतियोगितामा चीनको ‘वेबो गेमिङ’ १४२ अङ्कसहित दोस्रो र मङ्गोलियाको ‘अल्फा गेमिङ’ १४१ अङ्कसहित तेस्रो स्थानमा रहे । मङ्गोलियाका खेलाडी ‘डक’ प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयर’ घोषित हुँदै ५० हजार डलर पुरस्कार जिते ।

 


 

पछिल्लो अध्यावधिक: साउन १८, २०८२ ३:५१