close

वाई-फाईमा नयाँ युग आउँदै: स्पिड होइन अब स्थिरता, जटिल अवस्थामा पनि इन्टरनेट कमजोर नहुने

टेकपाना टेकपाना

साउन १९, २०८२ १०:१३

वाई-फाईमा नयाँ युग आउँदै: स्पिड होइन अब स्थिरता, जटिल अवस्थामा पनि इन्टरनेट कमजोर नहुने

काठमाडौँ । वायरलेस इन्टरनेट प्रविधिमा एक नयाँ अध्याय थपिँदैछ ।  वाई-फाई ६ र ७ को स्पिड र पर्फमेन्सको चर्चा सेलाउन नपाउँदै अब वाई-फाई ८ को चर्चा सुरु भएको छ । तर, यसपटकको चर्चामा स्पिडमा नभई विश्वसनीयता हुने देखिएको छ । चिप निर्माता क्वालकमले हालै एक ब्लग लेख्दै सन् २०२८ मा आउने भनिएको वाई-फाई ८ का मुख्य विशेषता सार्वजनिक गरेको छ । क्वालकमलाई मान्ने हो भने वाई-फाई ८ सँगै वायरलेस कनेक्टिभिटीको परिभाषा नै बदलिने छ ।

क्वालकमका अनुसार वाई-फाई ८ लाई ‘अल्ट्रा हाई रिलायबिलिटी’ अर्थात् अत्यधिक उच्च विश्वसनीयताको अवधारणामा विकास गरिँदैछ । यसको मुख्य लक्ष्य जस्तोसुकै जटिल र चुनौतीपूर्ण अवस्थामा पनि स्थिर र लो लेटेन्सीमा इन्टरनेट उपलब्ध गराउनु हो ।

क्वालकमका उपाध्यक्ष रोल्फ डे भेग्टले भनेका छन्, “वाई-फाई ८ ले भीडभाड, अवरोध र चलायमान अवस्थामा समेत स्थिर र भरपर्दो इन्टरनेट सेवा दिन्छ ।”

विगतका वाई-फाई संस्करणहरूमा स्पिडको विषयलाई प्रमुखता दिइन्थ्यो । तर यसपटक क्वालकमले गतिको सट्टा भरपर्दो प्रदर्शन र भीडभाड भएका क्षेत्रमा राम्रो काम गर्ने कुरामा जोड दिएको छ । 

तस्बिर क्रेडिट- क्वालकम

 वाई-फाई ८ का प्रमुख सुधारहरू

आईईईई (इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स) को ८०२.११बीएन (802.11bn) नामक टास्क ग्रुपले वाई-फाई ८ को मापदण्ड विकास गरिरहेको छ । यस मापदण्डअनुसार वाई-फाई ८ ले यी कुरामा सुधार ल्याउनेछ:

  • चुनौतीपूर्ण सिग्नल अवस्थाहरूमा कम्तीमा २५% बढी थ्रुपुट (throughput) अर्थात् डेटा प्रवाह क्षमता ।

  • ९५ प्रतिशत समयसम्म २५% कम लेटेन्सी । यसले गेमिङ र रियल-टाइम एप्लिकेसनहरूलाई फाइदा पुग्छ ।

  • एक्सेस प्वाइन्टहरूबिच घुम्दा (रोमिङ गर्दा) २५% कम प्याकेट ड्रप । जसले गर्दा कनेक्सन टुट्ने समस्या कम हुन्छ ।

तस्बिर क्रेडिट- क्वालकम

वाई-फाई ८ ले वास्तविक जीवनमा देखिने कनेक्टिभिटीका समस्याहरूलाई समाधान गर्न पाँच मुख्य क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । जसअन्तर्गत सिमलेस रोमिङको सुविधा मुख्य हुनेछ । एउटा एक्सेस प्वाइन्टबाट अर्कोमा जाँदा कनेक्सन टुट्न नदिने कम्पनीको भनाइ छ । यसले ‘once connected, always connected’ अर्थात् एक पटक कनेक्ट भएपछि सबै अनलाइनको अनुभव प्रदान गर्दछ । विशेषगरी ठूला कार्यालय, अस्पताल, एयरपोर्ट, पार्क जस्ता स्थानहरूमा यो उपयोगी हुन्छ ।

अर्कोतर्फ वाई-फाई ८ ले एजमा भरपर्दो कभरेज दिने क्वालकमको भनाइ छ । यसअन्तर्गत राउटरको सिग्नल कमजोर हुने टाढाको क्षेत्र (एज) मा पनि  भरपर्दो र उच्च गुणस्तरको कनेक्टिभिटी पाइने छ ।

अपार्टमेन्ट, शपिङ मल वा रंगशाला जस्ता धेरै डिभाइसहरू एकैपटक चल्ने ठाउँहरूमा ‘मल्टी-एपी कोअर्डिनेसन’ प्रविधिले सबै एक्सेस प्वाइन्टहरूलाई एकअर्कासँग समन्वय गरेर काम गर्न लगाउने पनि कम्पनीले जनाएको छ । 

आजकलका डिभाइसहरूमा वाई-फाई, ब्लुटुथ, यूडब्लूबी जस्ता धेरै रेडियोहरू हुन्छन् । वाई-फाई ८ ले यी सबै एकैसाथ चल्दा हुने हस्तक्षेप ( interruptions) लाई व्यवस्थापन गरी सहज सञ्चालन सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै, वाई-फाई ८ ले ऊर्जा खपतलाई कम गरी ब्याट्री लाइफ बढाउन मद्दत गर्ने नयाँ सुविधा ल्याउने क्वालकमले लेखेको छ ।

तस्बिर क्रेडिट- क्वालकम

भविष्यमा कस्तो पर्ला प्रभाव ?

वाई-फाई ८ को विकासले घर, उद्योग र सार्वजनिक स्थानहरूमा ठुलो प्रभाव पार्ने विश्लेषण गरिएको छ । उद्योगहरूमा स्वचालित रोबोट, ड्रोन र एआई-सञ्चालित प्रणालीहरू बिना कुनै अवरोध सञ्चालन हुन सक्नेछन् । घरहरूमा अग्मेन्टेड रियालिटी (एआर), रियल-टाइम हेल्थ मोनिटरिङ निगरानी जस्ता एप्लिकेसन सहज रूपमा चल्नेछन् । त्यसैगरी, एयरपोर्ट, रंगशालाजस्ता सार्वजनिक स्थानहरूमा ठुलो भिडले पनि उच्च गतिको स्थिर इन्टरनेटको अनुभव गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८२ १०:३०