close

ऋण चुक्ता नगरेपछि क्लासिक टेकका सञ्चालक खरेल दम्पतीको घर-जग्गा लिलामीमा जाँदै

टेकपाना टेकपाना

बैशाख ३०, २०८३ १९:३६

ऋण चुक्ता नगरेपछि क्लासिक टेकका सञ्चालक खरेल दम्पतीको घर-जग्गा लिलामीमा जाँदै

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका सञ्चालकहरूले बैंकको ऋण र ब्याज समयमा चुक्ता नगरेपछि उनीहरूको घर जग्गा लिलामी प्रक्रियामा जाने भएको छ । कुमारी बैंक लिमिटेडले क्लासिक टेक र यसका सञ्चालकहरूका नाममा रहेको ऋण चुक्ता गर्न ३५ दिने अन्तिम म्याद दिएको छ ।

बैंकले क्लासिक टेकका सञ्चालक प्रमेश खरेल र व्यक्तिगत जमानीकर्ता निशा खरेलले बैंकबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न पटक-पटक गरिएको मौखिक एवं लिखित ताकेतालाई बेवास्ता गरेपछि ऋणकर्जा चुक्ता भुक्तान गर्न गत २३ वैशाखमा ३५ दिने सूचना दिएको हो । यसअनुसार आगामी २६ जेठभित्र ऋण चुक्ता नगरे लिलामी प्रक्रिया सुरु हुनेछ ।

बैंकको सूचना अनुसार सञ्चालक निशा खरेलको नाममा मालपोत कार्यालय काठमाडौँमा दर्ता रहेको काठमाडौँ महानगरपालिका वडा नं. १० स्थित कित्ता नं. ४७४ र ४७६ को कुल १० आना २ पैसा २ दाम जग्गा र सो जग्गामा निर्मित घर तथा लिगलगापातहरू लिलामीको सूचीमा राखिएको छ ।

यसका साथै, ऋणी कम्पनी क्लासिक टेक प्रा.लि. को सम्पूर्ण चल-अचल श्रीसम्पत्ति र अन्य आसामीहरूसँगको लेना रकममा समेत बैंकले आफ्नो हक रहने गरी असुली प्रक्रिया अघि बढाएको छ ।

बैंकले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज र हर्जाना रकम चुक्ता गर्न ऋणी र जमानीकर्ताहरूलाई निर्देशन दिएको छ । तोकिएको समयभित्र बक्यौता चुक्ता नभएमा प्रचलित ऐन र राष्ट्र बैंकको निर्देशन बमोजिम धितो लिलाम गरी आफ्नो रकम असुल उपर गर्ने बैंकले उल्लेख गरेको छ ।

साथै, ऋण चुक्ता नगरेमा ऋणी प्रमेश खरेल र निशा खरेल दुवैलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा सूचीकृत गर्न सिफारिस गरिने समेत बैंकले चेतावनी दिएको छ । धितोबाट मात्र बैंकको सम्पूर्ण लेना रकम असुल नभएमा सञ्चालक र जमानीकर्ताको अन्य व्यक्तिगत जायजेथाबाट समेत बाँकी रकम असुल गरिने बैंकले स्पष्ट पारेको छ ।

क्लासिक टेक २०६६ साल देखि नेपालमा इन्टरनेट सेवा प्रदायकको रूपमा सञ्चालित छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८३ १९:३९