चितवनको सिमलताल र धादिङको चरौँदीमा अलर्ट सिस्टम, दुर्घटना हुँदा तुरुन्तै उद्धार गर्न सघाउने
साउन २०, २०८२ १९:५७
काठमाडौँ । घटना तथा दुर्घटनाबारे तत्कालै जानकारी दिनको लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा इन्टरनेट अफ थिङ्स (आईओटी) उपकरण जडान गरिएको छ । बढी दुर्घटना हुन सक्ने सम्भावना भएका २ स्थान छनौट गरी सशस्त्र प्रहरी बल नेपालले लुना जीपीएससँगको सहकार्यमा केही दिनअघि यस्ता डिभाइस जडान गरेको हो ।
दुर्घटना भएको खण्डमा उक्त डिभाइसबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुने बताइएको छ । कुनैपनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनको लागि ती स्थानमा रहेका स्थानीय बासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्नुपर्ने हुन्छ । बटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साइरन बज्नेछ । साथै मनिटरमा लोकेसनसहितको जानकारी हेर्न सकिने छ ।
यसरी साइरन बजेर दुर्घटनाको स्थानकाबारे जानकारी प्राप्त हुनासाथ तत्कालै उद्धारको लागि सुरक्षा फौज परिचालन हुनेछ । सो डिभाइसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय बासिन्दाहरूलाई जानकारी गराउनुका साथै प्रशिक्षण समेत दिएको छ ।
त्यसैगरी नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीय बासिन्दा तथा सो क्षेत्रमा आपद् विपद्मा परेका व्यक्ति र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमा समेत लुना जीपीएसको एप डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन् । एपभित्र रहेको एसओएस बटनमा क्लिक गर्दा त्यसभित्र रहेको एम्बुलेन्स, बाढी पहिरो, आगलागी र दुर्घटना मध्ये कुनै एक अप्सन छान्नुपर्ने हुन्छ ।
त्यसमा कुन प्रकृतिको घटना हो, सोही विकल्प क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो भन्ने विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सूचना प्राप्त हुनेछ । सो एपलाई डाउनलोड गरी अफलाइनमा समेत प्रयोग गर्न सकिने बताइएको छ ।
नारायणघाटदेखि नागढुङ्गासम्मको क्षेत्रमा प्रयोग गर्न सकिने मोबाइल एपले सो क्षेत्रमा हुने विपद्का घटनामा तत्काल उद्धारको लागि सहजता ल्याउने विश्वास छ । यसका साथै आम नागरिकहरूको तत्कालै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन २०, २०८२ १९:५८
