close

मेसेजबाट हुने ठगी रोक्न नयाँ फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

साउन २२, २०८२ ११:२७

मेसेजबाट हुने ठगी रोक्न नयाँ फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौँ । आजभोलि आर्थिक अवस्था कमजोर भएका मानिसहरूको फाइदा उठाउँदै ठगी गर्ने अपराधीहरूले नक्कली फ्रेन्ड रिक्वेस्ट र पिरामिड स्किमहरूको प्रयोग गरी मानिसहरूलाई ठगी गरिरहेका छन् । कतिपय समयमा यस्ता प्रयासहरू असफल पनि भएका छन् । तर धेरैजसो समय यी प्रयासहरू सफल हुने गरेका छन् । पछिल्लो समय ह्वाट्सएप ठगिका लागि निकै प्रयोगमा आएको एप बनेको छ । यिनै कुरालाई मध्यनजर गर्दै कम्पनीले पनि विभिन्न टुल्स तथा फिचरहरू उपलब्ध गराएको छ जसले ठगिबाट जोगिन मद्‍दत गर्न सक्छ ।   

कसरी हुन्छ ठगी ? 

ठगी गर्न कै लागि भनेर कल सेन्टर जस्ता विभिन्न संस्थाहरू खोलेको देख्न सकिन्छ । ग्राहक सेवाको नाम दिइएका यस्ता संस्थाहरूमा वास्तवमा केही व्यक्तिहरूलाई जानेर त केहीलाई झुक्याएर पनि काम लगाउने गरेको पाइन्छ । यस्तो काम धेरै दक्षिणपूर्व एसियामा हुने गरेको मेटा बताउँछ । 

यस वर्षको पहिलो छ महिनामा, मानिसहरूलाई ठगीबाट बचाउने प्रयासको रूपमा कम्पनीले ठगी केन्द्रहरूसँग जोडिएका ६८ लाखभन्दा बढी खाताहरू पत्ता लगाएर बन्द गरेको कम्पनीको भनाइ छ । 

यी ठगी केन्द्रहरूले एकैपटक धेरै किसिमका ठगी योजनाहरू चलाउँछन्, जस्तो कि क्रिप्टोकरेन्सी लगानीदेखि लिएर पिरामिड स्किमसम्म । यी सबै ठगीहरूमा प्राय: पीडितलाई पहिला पैसा लगानी गराउन लगाइन्छ । ठगीको सुरुवात एउटा सामान्य टेक्स्ट मेसेज वा डेटिङ एपबाट हुन सक्छ । त्यसपछि कुराकानी सामाजिक सञ्जाल, निजी मेसेजिङ एपहरू र अन्तमा भुक्तानी वा क्रिप्टो प्लेटफर्महरूमा सर्छ ।

एउटै ठगीको क्रममा, उनीहरूले प्रायः मानिसहरूलाई धेरै फरक-फरक प्लेटफर्महरूमा लैजाने प्रयास गर्छन् ताकि कुनै एउटा सेवालाई पूरै ठगीको जानकारी नहोस्, जसले गर्दा पत्ता लगाउन अझ गाह्रो हुन्छ ।

यस्ता स्क्यामबाट बच्न ह्वाट्सएपले के गर्दैछ ? 

स्क्यामबाट बच्नका लागि ह्वाट्सएपले चाडैँ नै केही नयाँ टुलहरू थप गर्ने भएको छ । ती टुलहरू ग्रुपच्याट र व्यक्तिगत च्याटमा प्रयोग गरिने कम्पनीले जनाएको छ । 

ग्रुपच्याट: ह्वाट्सएपमा एउटा नयाँ सुरक्षा फिचर थप हुँदैछ । यसअन्तर्गत प्रयोगकर्ताको कन्ट्याक्ट लिस्टमा नभएको कुनै व्यक्तिले प्रयोगकर्तालाई कुनै नयाँ ह्वाट्सएप ग्रुपमा जोड्दा एउटा जानकारी स्क्रिनमा देखिनेछ, जहाँ ग्रुपच्याटको विषयमा जानकारी र सुरक्षित रहने उपायहरू उल्लेख गरिएको हुनेछ । प्रयोगकर्ताले च्याट नहेरी नै ग्रुपबाट बाहिरिन सक्नेछन् । तर यदि प्रयोगकर्तालाई सो ग्रुपच्याट चिनेको जस्तो लागेमा ग्रुप च्याट हेर्न मिल्ने सुविधा पनि हुनेछ । तर त्यसमा रहने वा नरहने भन्ने निर्णय नगरेसम्म भने च्याटमा प्रयोगकर्ता जोडिने छैनन् । 

व्यक्तिगत च्याटहरू: यसबाहेक, ठगी गर्नेहरूले प्रयोगकर्तालाई अन्य प्लेटफर्महरूमा सम्पर्क गरेर ह्वाट्सएपजस्ता निजी म्यासेन्जर एपमा च्याट गर्न लगाउन सक्छन् । यस्तो कार्यबाट जोगाउनका लागि, कुनै नयाँ च्याट सुरु हुनु पूर्व ठगीका विषयमा जानकारी दिइनेछ । यी फिचहरू हाल परीक्षणमा रहेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १३:४३