सामाजिक सञ्जालहरूले बालबालिकाको मानसिक स्वास्थ्य बिगारेको आरोप, तिरे ४ अर्ब रूपैयाँ बढी क्षतिपूर्ति
जेठ १६, २०८३ १०:१६
काठमाडाैँ । बालबालिकामा मानसिक स्थास्थ्य सङ्कट निम्त्याउन भूमिका खेलेपछि सामाजिक सञ्जाल कम्पनीहरूले अमेरिकाको एक स्कुल सञ्चालकलाई ठुलो रकम क्षतिपूर्ति तिरेका छन् । अमेरिकाको केन्टकी राज्यस्थित एक स्कुल डिस्ट्रक्ट (सार्वजनिक विद्यालयहरू सञ्चालन गर्ने निकाय) ले मेटा प्लेटफर्म्स लगायतका सामाजिक सञ्जाल कम्पनीहरूबाट करिब २७ मिलियन डलर अर्थात ४ अर्ब रुपैयाँ माथिको सम्झौता रकम प्राप्त गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार विद्यार्थीहरूको मानसिक स्वास्थ्य सङ्कटलाई बढावा दिएको आरोपसहित ब्रेथिट काउन्टी स्कुल डिस्ट्रिक्टले दायर गरेको मुद्दा टुङ्ग्याउन सामाजिक सञ्जाल कम्पनीले उक्त रकम तिर्न सहमति जनाएका हुन् । यो मुद्दामा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लत लगाउने किसिमले (Addictive) डिजाइन गरिएको र त्यसले विद्यार्थीहरूमा चिन्ता, डिप्रेसन र आत्महानि जस्ता मानसिक समस्या देखिएको आरोप लगाइएको थियो ।
रोयटर्सका अनुसार स्कुल डिस्ट्रिक्टहरुसँग जोडिएको यो बेलवेदर केस (मार्गदर्शक मुद्दा) मा मेटा सबैभन्दा बढी ९ मिलियन डलर तिर्न सहमत भएको छ । इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपको सञ्चालक कम्पनी मेटाले २१ मेमा ब्रेथिट काउन्टी स्कुल डिस्ट्रिक्टले दर्ता गराएको मुद्दा सुनुवाइ हुनुभन्दा अगाडि नै सहमतिमा सुल्झाएको हो । मेटा भन्दा अगाडि स्न्याप, युट्युबको मातृ कम्पनी अल्फाबेट र टिकटकको मातृ कम्पनी बाइटडान्सले पनि सोही किसिमको मुद्दामा स्कुलसँग सम्झौता गरेका थिए ।
सम्झौताको प्रतिलिपि अनुसार युट्युब २.०१ मिलियन डलर र स्न्याप तथा टिकटक प्रत्येकले ८ मिलियन डलर तिरेर मुद्दा सुल्झाउन सहमत भएको रोयटर्सले लेखेको छ । यसका साथै, युट्युबले उक्त स्कुल डिस्ट्रिक्टलाई गुगल क्लासरुम र अन्य उत्पादनहरूका बारेमा विशेष तालिम उपलब्ध गराउन पनि सहमति जनाएको छ ।
मार्गदर्शक मुद्दा
अमेरिकाभरका करिब १२ सय अमेरिकी स्कुल डिस्ट्रिक्टहरूले मेटा, टिकटक, स्न्याप र युट्युबविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेका छन् । यी समान किसिमका मुद्दाहरू अझैपनि अमेरिकामा विचाराधीन रहेका छन् । सामाजिक सञ्जाल प्लेटफर्महरूले बालबालिकामा मानसिक स्वास्थ्य संकट बढाएको स्कुल डिस्ट्रिक्टहरूले आरोप लगाएका छन् ।
ब्रेथिट काउन्टी स्कुल डिस्ट्रिक्टको मुद्दालाई अमेरिकामा मार्गदर्शक मुद्दाको रूपमा हेरिएको रोयटर्सले उल्लेख गरेको छ । यो फैसलाले अन्य समान मुद्दाहरूलाई दिशानिर्देश गर्नेछ । न्यायाधीश र अधिवक्ताहरूले बाँकी रहेका दाबीहरूको सम्भावित मूल्य आकलन गर्न र सम्झौतालाई दिशानिर्देश गर्न मार्गदर्शक फैसलाको प्रयोग गर्ने गर्छन् ।
सामाजिक सञ्जाल विरुद्धको यो मुद्दामा ब्रेथिट काउन्टी भन्दा धेरै ठूला स्कुल डिस्ट्रिक्ट पनि सामेल छन् । एरिजोनाको ४० हजार विद्यार्थीहरू भएको एक जिल्लाले १५ वर्षे मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न १.१ बिलियन डलरभन्दा बढी रकम माग गरेको छ ।
साथै, सोसल मिडियाको प्रभाव व्यवस्थापन गर्न शिक्षक र कर्मचारीहरूले खर्च गरेको समयको क्षतिपूर्तिबापत थप १०० मिलियन डलरभन्दा बढीको माग गरेको छ । यस्तै, १२ लाख विद्यार्थीहरु भएको लस एन्जलस र न्युयोर्क सिटीका पब्लिक स्कुल सिस्टमले पनि सामाजिक सञ्जालहरु विरुद्ध मुद्दा दर्ता गरेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ १०:१६
