काठमाडौँ । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले नेपालमा यौन दुर्व्यवहार सम्बन्धी जनचेतना फैलाउन र पीडितलाई सहयोग गर्न नयाँ ‘सर्च गाइड’ फिचर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्तालाई समयमै आवश्यक सहयोग र समर्थन प्रदान गर्न यो सुविधा सुरु गरिएको जनाएको हो ।
यस फिचर अन्तर्गत अबदेखि नेपालका प्रयोगकर्ताले टिकटकमा यौन दुर्व्यवहारसँग सम्बन्धित शब्दह जस्तै “sexual assault”, “abuse hotline” वा “MeToo” खोज्दा उनीलाई एक विशेष सूचना देखाइनेछ । उक्त सूचनाले प्रयोगकर्तालाई स्थानीय हेल्पलाइन नम्बर र टिकटकको ‘सेफ्टी सेन्टर’मा रहेको यौन दुर्व्यवहार सहयोग पृष्ठ (Sexual Abuse Support Page) मा पुर्याउनेछ ।
कम्पनीका अनुसार उक्त सपोर्ट पेजमा यौन दुर्व्यवहारका विभिन्न स्वरूप जस्तै बाल यौनशोषण, बहकाउने व्यवहार (ग्रुमिङ) र सहमति बिनाका यौन क्रियाकलापबारे शैक्षिक सामग्री उपलब्ध छन् । साथै त्यस्ता सामग्रीबारे उजुरी गर्ने तरिका र व्यावसायिक सहयोगका लागि आवश्यक लिङ्क पनि समावेश गरिएको छ । यहाँ प्रयोगकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने बताइएको टिकटकको भनाइ छ ।
टिकटकका ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले प्रयोगकर्ताको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता भएको बताए । उनले भने, “कठिन परिस्थितिमा धेरै प्रयोगकर्ता अनलाइन प्लेटफर्ममा जाने भएकाले हामीले पीडितलाई आवश्यक सहयोगतर्फ डोहोर्याउन र यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीतिलाई बलियो बनाउन यो कदम चालेका हौं ।”
यस फिचरले पीडित र उनीहरूलाई सहयोग गर्नेहरूका लागि सहायता खोज्न सहज बनाउने विश्वास लिइएको छ । यसमा पीडितको हेरचाह, ट्रमा व्यवस्थापन र कानुनी सहयोगमा विशेषज्ञता भएका स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको विवरण पनि समावेश छ । साथै टिकटकले उपचार र पुनःस्थापनासँग सम्बन्धित ह्यासट्याग र सामग्रीलाई पनि प्राथमिकता दिने जनाएको छ ।
टिकटकले यो प्रयास आफ्ना प्रयोगकर्तालाई अनलाइनमा सुरक्षित राख्न र उनीहरूको भलो गर्नका लागि गरिरहेको हो । यसका लागि टिकटकले विशेषज्ञ, पीडितलाई सहयोग गर्ने समूह र मानसिक स्वास्थ्य संस्थासँग मिलेर काम गरिरहेको जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन २३, २०८२ १४:५९
