पो*र्न भिडिओका लागि उमेर प्रमाणीकरण नियम आएपछि बेलायतमा ह्वात्तै घटे एडल्ट साइटका प्रयोगकर्ता
साउन २९, २०८२ १४:३०
काठमाडौँ । उमेर प्रमाणीकरणको नियम कडा रूपमा कार्यान्वयनमा आएपछि बेलायतमा पोर्न साइट भिजिट गर्ने ट्राफिक ह्वात्तै घटेको छ । डेटा विश्लेषण गर्ने प्लेटफर्म सिमिलरवेबले यस्तो तथ्य बाहिर ल्याएको हो ।
सिमिलरवेबका अनुसार सबैभन्दा बढी भिजिटर हुनेमध्येको एक एडल्ट साइट पोर्नहबले दुई हप्तामा १० लाख बढी भिजिटर गुमाएको छ । ‘अनलाइन सुरक्षा ऐन’ अन्तर्गत २५ जुलाईदेखि पोर्नहब र अन्य प्रमुख एडल्ट वेबसाइटले उमेर जाँच गर्ने प्रणाली लागु गरेका थिए । यस ऐनले १८ वर्षमुनिका बालबालिकालाई अश्लील सामग्री हेर्नबाट रोक्न बाध्य पारेको छ ।
सिमिलरवेबका डेटा विज्ञले जुलाई महिनाको दैनिक औसत प्रयोगकर्ताको तथ्याङ्कलाई १ देखि ९ अगस्टसम्मको तथ्याङ्कसँग तुलना गरेका थिए । त्यस क्रममा बेलायतको सबैभन्दा बढी भिजिट हुने एडल्ट वेबसाइट पोर्नहबको ट्राफिकमा २४ जुलाई (नयाँ नियम लागु हुनुभन्दा एक दिनअघि) देखि ८ अगस्टसम्ममा ४७ प्रतिशतले कमी आएको देखिएको छ ।
सोही अवधिमा अर्को एडल्ट साइट एक्सभिडिओजको ट्राफिक पनि ४७ प्रतिशतले घटेको छ भने वन्ली फ्यान्सको ट्राफिकमा १० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । पोर्नहबमा दैनिक औसत भिजिट जुलाईमा ३२ लाख रहेकोमा अगस्टको पहिलो नौ दिनमा घटेर २० लाखमा झरेको छ ।
सिमिलरवेबको तथ्याङ्कले केही साना र कम नियमन भएका पोर्न साइटमा भने दर्शकको सङ्ख्या बढेको देखाएको छ । पोर्नहबका एक प्रवक्ताले बीबीसीलाई भने, “नियम पालना गर्ने साइटको ट्राफिकमा कमी आउने र नियम पालना नगर्ने साइटको ट्राफिक बढ्ने गरेको अवस्था हामीले विभिन्न देशमा देखेका छौं ।”
यसैबिच उमेर प्रमाणीकरणको नियम लागु भएपछिका दिनमा बेलायतको एप्पल एप स्टोरमा भीपीएन एप सबैभन्दा बढी डाउनलोड भएका छन् । भीपीएनले प्रयोगकर्ताको अनलाइन लोकेसन लुकाउन मद्दत गर्छ । यसले गर्दा उनीहरूले अर्को देशबाट इन्टरनेट चलाइरहेको जस्तो देखाउन सक्छन् । यस्तो हुँदा कुन ठाउँबाट कति मानिसले साइट हेरिरहेका छन् भन्ने तथ्याङ्क सङ्कलन गर्न पनि गाह्रो हुन्छ ।
मिडिया नियामक अफकमको अनुमान अनुसार बेलायतमा करिब एक करोड ४० लाख मानिस अनलाइन पोर्नोग्राफी हेर्छन् । उमेर प्रमाणीकरणको विषयलाई लिएर भने केही विज्ञले चिन्ता व्यक्त गरेका छन् । सजिलै भिडिओ हेर्न नपाइने भएपछि प्रयोगकर्ताहरू डार्क वेबमा त्यस्ता सामाग्री खोज्न सक्ने भन्दै भरपर्दो तरिका अपनाउन उनीहरूले सुझाव दिएका छन् ।
पछिल्लो अध्यावधिक: साउन २९, २०८२ १७:९
