close

निःशुल्क विश्वकप हेर्ने लोभमा मालवेयर इन्स्टल गर्दै नेपाली, केही दिनमै गुम्यो ७० लाख बढी रुपैयाँ

टेकपाना टेकपाना

जेठ २७, २०८३ १७:६

निःशुल्क विश्वकप हेर्ने लोभमा मालवेयर इन्स्टल गर्दै नेपाली, केही दिनमै गुम्यो ७० लाख बढी रुपैयाँ

काठमाडौँ । निःशुल्क रूपमा फिफा विश्वकप फुटबल देखाउने प्रलोभन देखाई प्रचार गरिएका नक्कली एप (मालवेयर) इन्स्टल गर्दा नेपाली नागरिकले छोटो समयमै ७० लाख रुपैयाँभन्दा बढी गुमाएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार यसरी ठगिने पीडितको सङ्ख्या ६० देखि ७० पुगेको छ ।

यस सम्बन्धमा साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले ब्युरोमा यस्ता उजुरीहरू नियमित रूपमा प्राप्त भइरहेको र हाल अनुसन्धान जारी रहेको जानकारी दिए ।

गिरीले भने, “अहिलेसम्म करिब ६० देखि ७० वटा उजुरी परेका छन्। निःशुल्क खेल हेर्न पाइने लोभ देखाई शङ्कास्पद लिङ्कमा क्लिक गर्न लगाएर प्रयोगकर्तालाई एउटा फाइल पठाउने गरिएको पाइन्छ । सोही फाइलमार्फत करिब ७० लाख रुपैयाँ बराबरको रकम ठगी भएको देखिन्छ ।” उनका अनुसार पछिल्लो चार-पाँच दिनयता भने नयाँ उजुरी आउने क्रम केही घटेको छ ।

ब्युरोका प्राविधिक अनुसन्धानकर्ताका अनुसार यो ठगीमा अत्यन्तै चलाखीपूर्ण प्राविधिक विधिको प्रयोग गरिएको छ । सुरुमा सामाजिक सञ्जालमा विज्ञापन गरेर प्रयोगकर्तालाई एउटा सामान्य एप डाउनलोड गर्न लगाइन्छ । एप इन्स्टल भएपछि ‘नयाँ भर्सन उपलब्ध छ, यसले एपलाई अझ छिटो र प्रभावकारी बनाउँछ’ भन्दै अपडेट गर्न आग्रह गरिन्छ ।

अनुसन्धानकर्ताले थप प्रस्ट्याउँदै भने, “अपडेटको नाममा ‘सिस्टम स्मुथ (सहज) हुन्छ’ भन्दै विभिन्न मेसेजहरू देखाइन्छ । प्रयोगकर्तालाई विश्वास दिलाउन गुगल प्ले स्टोरको लोगो प्रयोग गरी नक्कली एपीके फाइल देखाइन्छ । प्रयोगकर्ताले आफूले विश्वकप हेर्ने आधिकारिक एप नै अपडेट गरिरहेको ठानेर उक्त फाइल इन्स्टल गर्छन् ।” वास्तवमा त्यो फाइल एउटा घातक मालवेयर हुन्छ, जसको कोडलाई एन्टिभाइरसले समेत पत्ता लगाउन नसक्ने गरी टुक्रा-टुक्रा पारेर लुकाइएको हुन्छ ।

प्रयोगकर्ताले उक्त नक्कली अपडेट इन्स्टल गरेपछि एपले मोबाइलको ‘एक्सेसिबिलिटी’ को पर्मिसन माग्छ । विश्वकप हेर्नका लागि आवश्यक होला भन्दै सामान्य प्रयोगकर्ताले सजिलै अनुमति दिने गरेका छन् ।

यो अनुमति पाएपछि उक्त मालवेयरले प्रयोगकर्ताको मोबाइल स्क्रिनलाई केही मिनेटका लागि पूर्ण रूपमा ‘ब्ल्याङ्क’ (काम नगर्ने) बनाइदिन्छ । अनुसन्धानकर्ताले भने, “मोबाइलको स्क्रिन १०-१५ मिनेटसम्म निष्कृय भएको मौकामा उक्त एपले फोनको पूर्ण ‘रिमोट कन्ट्रोल’ लिन्छ र प्रयोगकर्ताको मोबाइलबाट वित्तीय कारोबार (बैंकिङ ट्रान्सफर) गरिदिन्छ ।”

यसरी चोरी गरिएको रकम नेपालकै अन्य बैंक वा डिजिटल वालेटहरूमा ट्रान्सफर गर्ने गरिएको र त्यसमा प्रायः ‘मनी म्युल’ (अरूको नाममा खोलिएका नक्कली खाता) प्रयोग भएको देखिएको छ ।

यस्ता भ्रामक एप र लिङ्कबाट सचेत रहन साइबर ब्युरोले ७ वैशाखमै सार्वजनिक सूचना जारी गरेको थियो । प्रहरीले निःशुल्क विश्वकप देखाउने बहानामा पठाइएका कुनै पनि शङ्कास्पद लिङ्क क्लिक नगर्न र एप इन्स्टल नगर्न सुझाव दिएको छ । नेपालमा ५४९ रुपैयाँदेखि ९९९ रुपैयाँसम्म शुल्क तिरेर आधिकारिक माध्यमबाट फिफा विश्वकप २०२६ का सम्पूर्ण १०४ वटा खेलहरू सुरक्षित रूपमा हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८३ १७:४०