close

बर्दीमै टिकटक भिडिओ बनाई जागिरप्रति असन्तुष्टि पोख्ने प्रहरी जवानलाई कारबाही हुने

टेकपाना टेकपाना

भदौ १२, २०८२ १८:३४

बर्दीमै टिकटक भिडिओ बनाई जागिरप्रति असन्तुष्टि पोख्ने प्रहरी जवानलाई कारबाही हुने

काठमाडौँ । बर्दीमै आफ्नो जागिरप्रति असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि नेपाल प्रहरीका जवान माधवप्रसाद भुगाईमाथि ​कारबाही हुने भएको छ । बाँकेमा कार्यरत भुगाईले टिकटकमा ३७ सेकेन्डको भिडिओ बनाई सरुवा-बढुवालाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आएका छन् । केहीले उनको अभिव्यक्तिको प्रशंसा गरेका छन् भने केहीले मादक पदार्थ सेवन गरी भिडिओ बनाएको आरोप लगाएका छन् । यस्तै, केहीले भिडिओमा भनिएको नाम र बर्दीमा उल्लेख भएको नाम फरक परेको भन्दै बर्दीको दुरुपयोग भएको आशंका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले यस विषयमा आन्तरिक अनुसन्धान सुरु गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार भुगाईमाथि प्रहरी नियमावली अनुसार आवश्यक कारबाही गरिनेछ ।

पातलीले टेकपानासँग, “उनले गुनासो गर्नुपर्ने कुनै उपयुक्त आधार छैन । उनी हालै मात्र सरुवा भएर यहाँ आएका हुन् र उनको बढुवा हुने समय पनि भएको छैन ।” 

भुगाईले भिडिओमा प्रहरी सेवामा 'पावर' हुनेलाई मात्र बढुवा र सरुवाको अवसर मिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले भिडिओमा “मेरो जागिर खाने भए खाऊ । तर यदि पावर हुनेले जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाऊ । हामीजस्तो गरिब दु:खीको जागिर हुन्न भने जागिर खानु छैन मलाई,” भनेका छन् ।

भुगाईमाथि कस्तो कारबाही हुनेछ भन्नेबारे खुलाइएको छैन ।


 

पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १८:४८