close

नेपाली कम्पनी भैरव टेकले ल्यायो साइबर आक्रमणकारीसँग जुध्न सक्ने एआई र मसिन लर्निङयुक्त टुल

टेकपाना टेकपाना

भदौ १६, २०८२ १८:१

नेपाली कम्पनी भैरव टेकले ल्यायो साइबर आक्रमणकारीसँग जुध्न सक्ने एआई र मसिन लर्निङयुक्त टुल

काठमाडौँ । नेपाली साइबर सुरक्षा कम्पनी भैरव टेकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मसिन लर्निङ (एमएल) प्रविधियुक्त साइबर सुरक्षा प्लेटफर्म ‘ट्राइडेन्ट सिएम’ को नयाँ संस्करण सार्वजनिक गरेको छ । संस्थाको डिजिटल प्रणालीमा हुने साइबर हमलालाई स्वचालित रूपमा पत्ता लगाउने, विश्लेषण गर्ने र रोक्ने उद्देश्यले कम्पनीले नयाँ भर्सन सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार यस प्लेटफर्मले कुनै पनि संस्थाको वेबसाइट, क्लाउड, ईमेल, नेटवर्क जस्ता सबै डिजिटल पूर्वाधारको एकै ठाउँबाट निगरानी गर्छ । विदेशी कम्पनीका महँगा र छुट्टाछुट्टै सफ्टवेयर किन्नुपर्ने बाध्यतालाई हटाउँदै एउटै एकीकृत प्रणालीमार्फत समाधान दिने कम्पनीको दाबी छ । यो विशेषगरी बैंक, वित्तीय संस्था, दूरसञ्चार जस्ता उच्च नियमन भएका निकायहरूका लागि उपयोगी हुने बताइएको छ ।

“विदेशी प्लेटफर्महरूले फरक-फरक कामका लागि छुट्टाछुट्टै प्रणाली बेच्छन्, जसले गर्दा खर्च र जटिलता दुवै बढ्छ,” भैरव टेकका प्रमुख कार्यकारी अधिकृत विजय लिम्बुले भने, “हामीले एउटै प्याकेजमा सबै सुविधा दिएका छौं । यसले गर्दा २४ सै घण्टा सुरक्षा निगरानीलाई सहज र किफायती बनाउँछ ।”

नयाँ संस्करणमा थपिएको एआई प्रविधिले विश्वभर भइरहेका नयाँ साइबर हमलाको जानकारी संकलन गरी सम्भावित खतराबाट बचाउन सचेत गराउँछ । त्यसैगरी मसिन लर्निङले संस्थाभित्रकै कर्मचारीबाट हुन सक्ने शङ्कास्पद गतिविधि पहिचान गरी भित्री खतरालाई समेत रोक्न मद्दत गर्ने सीईओ लिम्बुले बताए ।

उनका अनुसार यो उत्पादन नेपालमा मात्र नभई बङ्गलादेश, यूएई, अष्ट्रेलिया, इन्डोनेसिया र अमेरिकासम्मका कम्पनीले प्रयोग गरिरहेका छन् । “यो उत्पादनले नेपालमा पनि विश्वस्तरीय साइबर सुरक्षा प्रविधि बन्न सक्छ भन्ने प्रमाणित गरेको छ,” लिम्बुले भने । भैरव टेक ‘SOC 2’ र ‘ISO 27001’ जस्ता अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डबाट प्रमाणित कम्पनी हो ।

यस प्रडक्टबारे थप बुझ्न [email protected] मा सम्पर्क गर्न सकिनेछ । “क्लाइन्टको आवश्यकता के हुन्छ त्यसमा मूल्य निर्भर हुन्छ,” सीईओ लिम्बुले थपे, “एक पटक ईमेल पठाउनु भयो भने हामी उहाँहरूको आवश्यकता विश्लेषण गरेर काम अगाडि बढाउँछौं ।”

पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ १८:१