close

एमाले महासचिव पोखरेलले दिए सामाजिक सञ्जाल बन्द हुने स्पष्ट सङ्केत, सञ्चार मन्त्रालय छलफलमा

टेकपाना टेकपाना

भदौ १९, २०८२ १०:४१

एमाले महासचिव पोखरेलले दिए सामाजिक सञ्जाल बन्द हुने स्पष्ट सङ्केत, सञ्चार मन्त्रालय छलफलमा

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल बन्द हुने कुराको सङ्केत दिएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले सरकारको आगामी कदमको बारेमा सङ्केत दिएका हुन् ।

उनले सामाजिक सञ्जाल बन्द भएर नखुलेसम्म त्यसले खलबल्याएका असल सामाजिक परम्परा पुनःस्थापित गर्ने कोसिस गर्नुपर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जालले समस्या निम्त्याएको र बन्द हुँदा सुखद अनुभूति हुने उनको भनाई छ । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टीका उच्च पदाधिकारीले गरेको उक्त पोस्टलाई गम्भीर रूपमा लिइएको छ । 

बुधबार राति १२ बजे सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि सरकारले दिएको अन्तिम म्याद सकिएको छ । तर उक्त अवधिमा कुनै पनि सामाजिक सञ्जालले सूचीकरण नगराएको मन्त्रालयले जनाएको छ । 

मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सूचना जारी गर्दा समेत सामाजिक सञ्जालहरू सूचीकरणमा नआएपछि यतिखेर सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा अहिले छलफल चलिरहेको छ । बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले सामाजिक सञ्जाल बन्द गर्नेगरी आजै  निर्णय हुने सम्भावना बढी रहेको बताएका छन् । 

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १०:५३