सामाजिक सञ्जाल बन्दसँगै ‘सोसल मिडिया प्याक’ किनेका ग्राहकको ब्यालेन्स के हुन्छ ?
भदौ १९, २०८२ २१:४०
काठमाडौँ । सरकारले २६ ओटा सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि टेलिकम कम्पनीहरूले सञ्चालन गर्दै आएका ‘सोसल मिडिया प्याक’ अन्योलमा परेका छन् ।
सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले सामाजिक सञ्जाल प्रयोगका लागि छुट्टाछुट्टै डेटा प्याकेज उपलब्ध गराउँदै आएका थिए । टेलिकमले पोस्टपेड र प्रिपेड दुवै ग्राहकका लागि अनलिमिटेड फेसबुक/युट्युब प्याक सञ्चालन गरिरहेको थियो भने एनसेलले ‘सधैं अन’ प्याकमार्फत अनलिमिटेड युट्युब चलाउने सुविधा दिइरहेको थियो ।
तर, सरकारले फेसबुक, युट्युबसहित २६ ओटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि ती प्याक खरिद गर्ने प्रयोगकर्ताको बाँकी ब्यालेन्स र सेवा सम्बन्धी स्थिति के हुने भन्ने विषयमा अन्योलता बढेको छ । यसबारे नेपाल टेलिकम र एनसेल दुवैसँग सम्पर्क गर्ने प्रयास गर्दा प्रतिक्रिया प्राप्त हुन सकेन । न त यी कम्पनीहरूले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।
प्रतिबन्ध कार्यान्वयनसँगै टेलिकम र एनसेल दुवैको नेटवर्कमार्फत ती सामाजिक सञ्जाल क्रमशः चल्न छोडेका छन् । प्रयोगकर्ताले ह्वाट्सएप, इन्स्टाग्रामलगायतका प्लेटफर्म नचल्ने गुनासो गर्न थालेका छन् ।
बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरी कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो । त्यसपछि प्राधिकरणले मोबाइल सेवा प्रदायक र इन्टरनेट कम्पनीहरूलाई प्रतिबन्धित प्लेटफर्ममा पहुँच बन्देज लगाउन निर्देशन दिएको हो ।
पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ २१:४०
