close

सामाजिक सञ्जाल बन्दपछि सञ्चार मन्त्रालयका प्रवक्तालाई फोन उठाउन भ्याइ नभ्याइ, एक दिनमै ५५२ कल !

टेकपाना टेकपाना

भदौ २०, २०८२ १८:२

सामाजिक सञ्जाल बन्दपछि सञ्चार मन्त्रालयका प्रवक्तालाई फोन उठाउन भ्याइ नभ्याइ, एक दिनमै ५५२ कल !

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरलाई बिहीबार मात्रै ५५२ कल आए । सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णयका कारण उनलाई फोन उठाउन दिनभर भ्याइ नभ्याइ थियो ।

बिहान १० बजेदेखि फोन आउन थालेको र निर्णय नभइसकेकोले मध्यान्ह १२ बजेसम्म आफूले खासै फोन कलको रेस्पोन्स नगरेको उनले बताए । तर निर्णय भएपछि कलको रेस्पोन्स नगरी धरै थिएन ।

यस क्रममा राति १० बजेसम्म ३७९ फोन कल आफूले रिसिभ गरेको जानकारी उनले दिए । "तर २७३ कल मैले रेस्पोन्स गर्न सकिनँ," उनले टेकपानासँग भने, "महत्त्वपूर्ण निर्णय भएकाले सकेसम्म सबै कल रेस्पोन्स गर्ने प्रयास गरेको थिएँ ।"

शुक्रबार भने बिहीबारको तुलनामा कम फोन आइरहेको उनले बताए । यद्यपि बेलुका ५ बजेसम्म उनले ११२ कलको रेस्पोन्स गरिसकेको सुनाए ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ १८:२