काठमाडौं । सोमबार राजधानीलगायत देशका विभिन्न सहरमा जेन जी पुस्ताले गर्न लागेको आन्दोलनलाई पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समर्थन जनाएका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै प्रचण्डले आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन् ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध गलत भएको भन्दै उनले युवाहरूको आन्दोलनलाई समर्थन जनाएका छन् । प्रचण्डले आफ्नो पोस्टमा लेखेका छन्, "सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ । सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ । प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।"
जेन जी पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध, चरम वेथिती, बढ्दो भ्रष्टाचार लगायतका मुद्दाहरू उठाएर राजधानीसहित देशका विभिन्न सहरमा प्रदर्शन गर्दैछ । प्रचण्ड यो आन्दोलनलाई समर्थन जनाउने पहिलो पूर्व प्रधानमन्त्री हुन् ।
पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ २१:५२
