पार्टी छाडेपछि सामाजिक सञ्जालमा पूर्व शिक्षामन्त्री सुमना विरुद्ध खनिए रास्पवा समर्थक
भदौ २९, २०८२ १९:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी छाडेको घोषणासँगै पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको बारेमा सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । रास्वपा र पार्टी सभापति रवि लामिछानेका समर्थकहरूले श्रेष्ठलाई अवसरवादीको संज्ञा दिएका छन् । सुमना श्रेष्ठलाई जनताले रास्वपा मार्फत नै चिनेको, तर पार्टीको अवस्था ठीक नभएको बेलामा छाडेर गएको आरोप लगाएका छन् ।
रास्वपाकी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले पार्टी सङ्कटमा रहेको बेलामा रास्वपा छाडेको भन्दै आलोचना गरेकी छिन् । रवि र रास्वपाका कारण सांसद हुँदै मन्त्री बनेको भएपनि सुमनाले सबै लत्याएको गएको उनको आरोप छ ।
सङ्ग्रौलाले लेखेकी छिन्, “छोड्दिन भनेको भोलिपल्ट नै छोड्नु भो ! संकटको बेला छोड्नु भो । रवि दाइ र रास्वपाकै कारण हजुर सांसद हुँदै मन्त्री बन्नु भो । तर आज त्यो सब लत्याउनु भो । अब गएको ठाउँमा नि मन्त्री भएको हेर्न पाइयोस् । तर त्यता पनि कुनै दिन संकट आउदा छोडेर जानुभो भनेको सुन्नु नपरोस् ! तपाईको आगामी यात्रा राम्रो बनोस् ! अरू त खै के भनौ र !”
सामाजिक सञ्जाल प्रयोगकर्ता ‘बीपी खत्री’ले लेखेका छन्, “अवसरवादी नेता । जस्ले पहिचान दियो उसैलाई बिर्सिएर धेरै अगाडि पुग्नुहोला ।”
अर्का प्रयोगकर्ता ‘हेम राज जोशी’ले पनि श्रेष्ठलाई अवसरवादी भएको आरोप लगाएका छन् । फेसबुकमा श्रेष्ठको पोस्ट शेयर गर्दै उनले लेखेका छन्, “यी हुन रिल नेता एवम् राजनीतिक टपरटुइयाँ- सुमना श्रेष्ठ । अवसरवादी दलाल शब्द बनेको यिनी जस्तालाई नै हो। रास्वपा आज बाट एक हदसम्म सफा भएको छ, यस्ता विदेशी एजेन्टहरू हटे पछि- रास्वपाको शुद्धीकरणको भएको छ ।”
सामाजिक सञ्जाल प्रयोगकर्ता 'टिपि धमला- शर्मा' ले रास्वपाकै कारण चिनिएको कुरा बिर्सिन नहुने बताएका छन् । उनले लेखेका छन्, “यो तपाईँको स्वतन्त्रता हो । तर यति चाहिँ भुल्नु हुन्न अहिले हजुर राजनीतिक हिसाबले जति चर्चित हुनु हुन्थ्यो, यो सब रास्वपा र रविको कारण हो है सुमना जि । बाँकी गुड लक…”
धिरेन्द्र मगरले संसद पदबाट राजीनामा दिएपछि सुमनाले राजीनामा दिएको भन्दै लेखेका छन्, "रविले समानुपातिक सांसद बनाइदिए, मन्त्री पनि बनाइदिए अब सांसद पद पनि गएपछि सुमाना लाई रबि पनि चाहिएन रास्वपा पनि चाहिएन। अवसरवादी रहेछौ, स्वार्थी रहेछौ ।"
आइतबार पूर्व शिक्षामन्त्री श्रेष्ठले पार्टी नेतृत्वले गल्ती माथि गल्ती गरिरहेको र पार्टीभित्र आलोचना गर्नेहरूको विरुद्धमा मिडिया ट्रायल गरेको आरोप लगाउँदै फेसबुकमार्फत राजीनामा दिएको जानकारी दिएकी हुन् । उनले नेताहरूलाई पूजा गरेर बस्न नहुने बताएकी छिन् । काँग्रेस, एमाले र माओवादीका नेताहरूलाई पनि ठूला नेताहरूको पूजा गर्न बन्द गर्न उनले आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, “कि हटाउनुहोस्, कि हट्नुहोस् ।”
२३ र २४ भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा सुमनाले खुलेर समर्थन गरेकी थिइन् । शुक्रबार राति नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणका क्रममा पनि उनी सहभागी भएकी थिइन् । उक्त शपथ ग्रहण समारोहमा रास्वपाका तर्फबाट अरू कुनै नेताहरू उपस्थित भएका थिएनन् ।
योसँगै श्रेष्ठ अन्तरिम सरकारमा मन्त्री बन्न लागेको भन्दै चर्चा सुरु भएको छ । अन्तरिम सरकारको मन्त्री बन्नकै लागि पार्टी छाड्न लागेको भन्दै उनलाई रास्वपा समर्थकहरूले अवसरवादी बनेको भनिरहेका छन् ।
यता श्रेष्ठले भने आफू पार्टी छाडे पनि मन्त्री बन्ने मनसायमा नरहेको स्पष्ट पारेकी छिन् । तर जेनजी आन्दोलनमा युवाको बलिदानलाई खेर जान नदिने उनको भनाइ छ । जेनजीको आन्दोलनलाई बदनाम गर्न खोजेको भन्दै आफूले त्यस्तो हुन नदिने उनले बताएकी छिन् ।
उनले रास्वपामा जोडिँदा लिएर गएको ‘परिवर्तन’को एजेन्डा पार्टी छाड्दा पनि आफूसँगै लिएको भिडिओ सन्देश जारी गर्दै स्पष्ट पारेकी छिन् ।
यता सामाजिक सञ्जालमा एक पक्षले सुमनाको निर्णयलाई लिएर आलोचना गरिरहँदा केही प्रयोगकर्ताले भने ‘बोल्ड मुभ’ लिएको भन्दै प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा प्रयोगकर्ता नारायण गाउँले काम र प्रतिभाले मन पराएको व्यक्ति जुनसुकै पार्टीमा रहेपनि मन नपर्ने नहुने बताएका छन् । उनले रास्वपाले सुमनालाई चिनाएको भन्दै आगामी यात्राको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल एक्समा प्रयोगकर्ता दीपक ज्ञवालीले सुमनाको निर्णयले उनलाई हिम्मत भएकी महिलाका रूपमा स्थापित भएको बताएका छन् ।
Salute @SumanaShrestha
— Dipak Gyawali (@dipak_gyawali) September 14, 2025
You have demonstrated you are a woman of courage!
🙏
सुमनाले छोडिन् रास्वपा https://t.co/YfH4zwGXg2
फेसबुकमा अर्का प्रयोगकर्ता एमडी गौतमले सुमनाले सही निर्णय लिएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, “सुमनाको निर्णय एकदमै सहि छ। एजेन्डा मुखी भन्दा ब्यक्ति बादी चरित्र हावि भैरहेको देख्दा र त्यस्तो दस्तामा सुमना हिडिरहेकाे देख्दा अचम्म लागिरहेको थियो । निर्णय एकदमै ठिक छ । आशा छ तपाईँको सोच र कार्यशैलीको सहि ठाउँमा कदर हुनेछ।”
पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १९:४१
