प्रधानमन्त्रीका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट प्रधानमन्त्री कार्यालयसँगै सुरक्षित, तर किन भएनन् सक्रिय ?
असोज १, २०८२ १५:२९
काठमाडौँ । प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग पूर्ण रूपमा सुरक्षित रहेको पाइएको छ । तर, नयाँ सरकार बन्दा ती अकाउन्ट भने सक्रिय छैनन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयका अनुसार, एक्स, फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सबै आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरूको स्वामित्व प्रधानमन्त्री कार्यालयअन्तर्गत सहसचिवको नेतृत्वमा रहेको निजी सचिवालयसँग छ । प्रधानमन्त्रीसँग रहने दुई खाले निजी सचिवालयमध्ये सरकारी कर्मचारी (सहसचिव) सम्मिलित सचिवालयले नै यी अकाउन्टहरूको व्यवस्थापन हेर्छ ।
प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालले टेकपानासँगको कुराकानीमा प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरू कहिल्यै पनि सहसचिव नेतृत्वको निजी सचिवालयभन्दा बाहिर नरहने स्पष्ट पारे । "अहिले एकदमै विषम परिस्थिति छ । त्रासपूर्ण अवस्था छ । संक्रमणकालीन अवस्थाका कारण प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल कहाँ गयो भन्ने भयो होला, त्यो प्रधानमन्त्री कार्यालयमै रहने सरकारी कर्मचारी सम्मिलित प्रधानमन्त्रीको निजी सचिवालयसँग सुरक्षित छ," ढकालले भने, "भोलि सचिवालय फेरियो भने हस्तान्तरण भइहाल्छ।"
गत भदौ २४ गते सिंहदरबारमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको आगजनीले प्रधानमन्त्री कार्यालय ध्वस्त बनेको र त्यसलगत्तै हतार हतार अन्तरिम सरकार गठन भएको संक्रमणकालीन अवस्थाका कारण सामाजिक सञ्जाल सक्रिय हुन नसकेको बुझिएको छ । यद्यपि, अकाउन्टहरूको सुरक्षा र स्वामित्वमा भने कुनै प्रश्न नरहेको कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त भएमा सरकारी कर्मचारी सम्मिलित निजी सचिवालयमा व्यक्ति फेरबदल हुँदा अकाउन्टहरू सोही नयाँ नेतृत्वलाई हस्तान्तरण गरिने ढकालले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असोज २०, २०८२ १६:३६
