काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा २४ भदौमा आगजनी भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरमा भेटिएका पैसाका बारेमा ‘सिधाकुरा’ ले गरेको भिडिओ हटाउन भन्दै धम्कीपूर्ण मेसेज आएको छ । सिधाकुराको मेसेन्जरमा ‘सानू भाइ’ नामक फेसबुक प्रयोगकर्ताले उक्त धम्कीपूर्ण मेसेज पठाएका हुन् ।
उक्त मेसेजमा अपशब्द प्रयोग गर्दै “दुई दिन भित्र मार्छु”, “आफ्नो सुरक्षा खोज्नुपर्छ भने खोज” लगायतका धम्की दिइएको छ । देउवाको घरमा पैसा भेटिएको उक्त भिडिओ एआईबाट एडिट गरेर राखिको भन्दै तत्काल हटाउन ती प्रयोगकर्ताले धम्की दिएका हुन् । आफ्नो धम्कीको बेवास्ता गरेमा सिधाकुराको कार्यालयमा नै आगजनी गर्ने सम्मको धम्की मेसेजमा दिइएको उल्लेख छ ।
देउवाको घरमा पैसा भेटिएको विभिन्न भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘सिधाकुरा’ ले २५ भदौमा देउवा निवासको स्थलगत रिपोर्टिङ गरेको थियो । “देउवा र आरजुको घरमा अकुत कालोधन” शीर्षकमा सार्वजनिक उक्त भिडिओमा देउवा निवासको विभिन्न ठाउँबाट जलेका पैसाहरू भेटिएको दृश्य देख्न सकिन्छ ।
एक हजार र पाँच सय रुपैयाँका कयौँ नोटहरू तथा अमेरिकी डलर भेटिएको कुरा उक्त स्थलगत रिपोर्टिङपछि तयार पारिएको भिडिओमा देखाइएको छ। उक्त भिडिओको रिपोर्टिङ सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुङ्गानाले गरेका हुन् ।
उक्त भिडिओ हटाउने धम्की आज बिहान (९ असोज) आएको कार्यकारी सम्पादक ढुङ्गानाले बताए । धम्कीपूर्ण मेसेज विरुद्ध प्रहरीको साइबर ब्युरो र नेपाल पत्रकार महासङ्घमा निवेदन दिने तयारीमा रहेको उनले टेकपानासँग बताए ।
तल हेर्नुहोस् ‘सानु भाइ’ नामका प्रयोगकर्ताले सिधाकुरालाई पठाएका धम्कीपूर्ण मेसेज: