close

भाइरल ‘प्र्याङ्क भिडिओ’ मा संलग्न ३ जना पक्राउ, आपसी सहमतिमै नाटक गरेको प्रहरीको खुलासा

टेकपाना टेकपाना

असार १२, २०८३ २०:३९

भाइरल ‘प्र्याङ्क भिडिओ’ मा संलग्न ३ जना पक्राउ, आपसी सहमतिमै नाटक गरेको प्रहरीको खुलासा

काठमाडौं । प्र्याङ्कको नाममा सामाजिक सञ्जालमा साम्प्रदायिक घृणा र द्वेष फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-३ का ३१ वर्षीय राजन केसी, सोही स्थानका २८ वर्षीय डिल्ली बहादुर वली र कपिलवस्तु कृष्णनगर नगरपालिका-४ घर भई हाल रुकुम पश्चिममा पाउरोटी (बेकरी) पसल सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुवीर कोरी रहेका छन् । 

‘Jiban Oli’ नामक युट्युब च्यानलमा २४ जुन २०२६ मा सार्वजनिक गरिएको उक्त भिडिओमा डेलिभरी ब्वाईमाथि अभद्र व्यवहार गरिएको देखिएपछि सर्वसाधारणले यसको चर्को आलोचना गरेका थिए । गृहमन्त्री सुधन गुरुङले समेत संलग्नहरूलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । 

प्रहरीको प्रारम्भिक अनुसन्धान र सोधपुछका क्रममा उक्त भिडिओ भाइरल हुने उद्देश्यले आपसी सहमतिमा बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी बेद बहादुर पौडेलले जानकारी दिए । उनका अनुसार भिडिओमा पीडितको भूमिकामा देखिएका रघुवीर कोरी सोही क्षेत्रमा पाउरोटी डेलिभरी गर्ने काम गर्ने व्यक्ति हुन् ।  “कोरीले अन्य दुई स्थानीय युवकहरूसँग मिलेर योजनाबद्ध रूपमा उक्त भिडिओ सुटिङ गरेको पाइयो,” डीएसपी पौडेलले टेकपानासँग भने ।

एकान्त सडकमा सामान पुर्‍याउन आएका डेलिभरी ब्वाईलाई चोर भन्दै थर्काउने, तराईको भन्दै क्षेत्रीय पहिचानका आधारमा होच्याउने र भिरबाट फालिदिने धम्की दिँदै हात जोड्न लगाएको दृश्य भिडिओमा देखिन्छ । तर प्रारम्भिक अनुसन्धानले उनीहरू साथी-साथी रहेको र भिडिओमा देखाइएका सबै गतिविधिहरू पूर्वनियोजित पाइएको डीएसपी पौडेलले बताए ।

यद्यपि, मनोरञ्जन र भाइरल हुने नाममा गरिएको यस्तो कार्यले समाजमा साम्प्रदायिक विद्वेष फैलाउने देखिएकाले प्रहरीले उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाएको । पौडेलका अनुसार पक्राउ परेकाहरूले अपनाएको शैली र प्रयोग गरेका शब्दहरूले साम्प्रदायिक सुव्यवस्थामा खलल पुर्‍याउने र निश्चित क्षेत्र वा समुदायको मानमर्दन गर्ने देखिएकाले नियन्त्रणमा लिइएको हो । 

शुक्रबार पक्राउ परेका तीनै जनालाई हाल हिरासतमा राखिएको र म्याद थपको अनुमतिका लागि सोमबार जिल्ला अदालतमा लगिने उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असार १२, २०८३ २०:५९