close

नेपाल टेलिकमको रोमिङ सेवा अवरुद्ध, विदेश भ्रमणमा रहेका ग्राहक कल, एसएमएस र डेटाबाट वञ्चित

टेकपाना टेकपाना

असार १२, २०८३ १६:२१

नेपाल टेलिकमको रोमिङ सेवा अवरुद्ध, विदेश भ्रमणमा रहेका ग्राहक कल, एसएमएस र डेटाबाट वञ्चित

काठमाडौँ । नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवामा एक्कासी प्राविधिक समस्या आएको छ । जसका कारण विदेश भ्रमणमा रहेका तथा विदेशमा बसोबास गर्ने नेपाली ग्राहकहरु आफ्नो मोबाइलबाट कल गर्न, एसएमएस आदानप्रदान गर्न र इन्टरनेट डेटा प्रयोग गर्नबाट पूर्ण रुपमा बञ्चित भएका छन् ।

नेपाल टेलिकमका अनुसार अन्तर्राष्ट्रिय आईपीसीएल (International Private Leased Circuit) सेवा प्रदायकको सिङ्गापुरस्थित फाइबर केबलमा प्राविधिक समस्या आएका कारण अन्तर्राष्ट्रिय रोमिङ सेवामा अवरोध उत्पन्न भएको हो । कम्पनीले यसबाट अन्तर्राष्ट्रिय रोमिङ सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै, सम्बन्धित अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरी अन्तर्राष्ट्रिय रोमिङ सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न आवश्यक कार्य तीव्र रुपमा भइरहेको जनाएको छ । 

विदेशी भूमिमा अचानक सञ्चार विच्छेद हुँदा ग्राहकहरूले ठुलो सास्ती खेप्नुपरेको छ । कम्पनीका सह प्रवक्ता पक्षेत थापाले सेवाबाट प्रभावित हुने ग्राहकको क्षतिपूर्तिको विषयमा भने अहिले नै केही भन्न नसकिने र यस विषयमा छलफल गरेर जानकारी गराउने बताए ।

अन्तर्राष्ट्रिय रोमिङ सेवा यस्तो सुविधा हो, जसले ग्राहकलाई नेपाल बाहिर जाँदा पनि आफ्नो टेलिकमको सिम कार्डबाट विदेशी मोबाइल नेटवर्क प्रयोग गर्न अनुमति दिन्छ । यसले गर्दा विदेशमा पनि आफ्नै नम्बरमा कल रिसिभ गर्न, बैंकिङ ओटीपी प्राप्त गर्न र डेटा चलाउन सहज हुन्छ ।

कम्पनीले आफ्नो प्रिपेड रोमिङ सेवालाई भारत, चीन, अस्ट्रेलिया, अमेरिका लगायतका ६२ वटा देशमा विस्तार गरिसकेको छ । साथै, ग्राहकहरूको सहजताका लागि टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा समेत अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः रुपमा सुचारु हुने व्यवस्था समेत मिलाएको छ ।

रोमिङ सेवा लिएर ढुक्कले विदेश भ्रमणमा निस्किएका हजारौँ सेवाग्राहीहरू अहिले सिङ्गापुरको फाइबर केबलमा आएको समस्याका कारण प्रभावित भएका छन् । कम्पनीले सेवा छिट्टै सुचारु हुने दाबी गरेपनि ठ्याक्कै कति समय लाग्ने भन्ने विषय भने स्पष्ट पारिसकेको छैन । यस्तो अवस्थामा विदेशमा रहेका ग्राहकहरूले इन्टरनेट कल वा स्थानीय सिमकार्डको वैकल्पिक व्यवस्था गर्नुपर्ने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८३ १६:४३