काठमाडौँ । बिलिङ प्रणालीमा पुन: समस्या आउँदा बिहीबार बिहानसम्म नेपाल टेलिकमको सेवा अवरुद्ध भएको पाइएको छ । पुरानो बिलिङ प्रणालीका कारण सेवाग्राहीको चाप धान्न नसकेपछि टेलिकमको भ्वाइस, डेटा र एसएमएस सेवा डाउन भएको हो ।
बिहीबार बिहान अबेरसम्म टेलिकमको नेटवर्क डाउन रह्यो । टेलिकम प्रयोगकर्ताहरूले फोन गर्दा नलाग्ने, डेटा पनि नचल्ने, एनसेलबाट टेलिकमको नेटवर्कमा फोन गर्दा ‘स्विच अफ’ भएको सन्देश आउने समस्या देखिएको थियो ।
टेलिकमका एक प्राविधिकले बिलिङ प्रणालीमा आएको समस्याका कारण सेवामा अवरोध देखिएको जानकारी दिए । “बिलिङमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्यो । हाम्रो प्राविधिक टोलीले समस्या पहिल्याउँदा बिलिङमा समस्या देखापर्यो । अहिले भने पूर्ण रूपमा रिस्टोर गरिसकेका छौँ । अहिले सेवा पुरानै अवस्थामा आइसकेको छ । समस्या छैन,” ती प्राविधिकले भने ।
गत १२ साउनमा पनि टेलिकमको बिलिङ प्रणालीमा गम्भीर समस्या आउँदा डेटा सेवा चार घण्टा अवरुद्ध भएको थियो । पुरानो बिलिङ प्रणालीका कारण टेलिकमको सेवा पटकपटक अवरुद्ध हुने गरेको छ ।
जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएर आउँदा टेलिकमले करिब पाँच अर्ब रुपैयाँ खर्चेर किन्न लागेको बिलिङ प्रणालीको टेन्डर प्रक्रिया अनिश्चित कालका लागि रोकिएको छ ।
पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १३:४४
