close

विद्युत बक्यौता तिर्ने समय सच्याइयो, उद्योगीले २ कात्तिकभित्रै बुझाउनुपर्ने

टेकपाना टेकपाना

असोज १३, २०८२ १०:२३

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गरेर पनि वर्षौंदेखि महसुल नतिरेका उद्योगीहरूलाई बक्यौता तिर्न दिएको मिति सच्याएको छ । 

हिजो १२ असोजमा सूचना निकाल्दै प्राधिकरणले बक्यौता बाँकी रहेका उद्योगहरूलाई २१ दिनको समय दिएर १७ कात्तिकसम्ममा चुक्ता गर्न अल्टिमेटम दिएको थियो । तर,  सोमबार सूचना सच्याउँदै प्राधिकरणले २१ दिनको अल्टिमेटम २ कात्तिक रहेको स्पष्ट पारेको छ । 

प्राधिकरणले उक्त अवधिमा पर्ने सार्वजनिक बिदाहरूमा पनि प्राधिकरणको महसुल काउन्टर खुला रहने र विद्युतीय माध्यमबाट सहजरूपमा महसुल भुक्तानी गर्न सकिने जनाएको छ ।  

प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म २४सै घण्टा विद्युत उपयोगबापत ४९ उद्योगले आठ अर्ब २६ करोड रुपैयाँ तिरेका छैनन् । 

प्राधिकरण सञ्चालक समितिको शुक्रबार बसेको बैठकले २१ कार्य दिनभित्र बक्यौता भुक्तानी प्रक्रियामा आउनुपर्ने निर्णय गरेको हो । यस अवधिमा मासिक २८ किस्तामा तिर्न सक्ने सुविधा दिइएको छ । 

ऊर्जामन्त्री कुलमान घिसिङले ३० भदौमा पदभार ग्रहण गर्दै डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तत्काल उठाउन निर्देशन दिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८२ १०:२४