close

टिकटक जस्तै एआई भिडिओ एप ‘सोरा २’ ल्याउँदै ओपनएआई, के छ विशेष ?

टेकपाना टेकपाना

असोज १९, २०८२ १६:५४

टिकटक जस्तै एआई भिडिओ एप ‘सोरा २’ ल्याउँदै ओपनएआई, के छ विशेष ?

काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले ‘सोरा २’ नामक एप ल्याउने भएको छ । आफ्नो भिडिओ जेनेरेसन एआई मोडेल ‘सोरा’ का भिडिओका लागि कम्पनीले छुट्टै एप ल्याउने भएको हो ।  

प्रविधि म्यागजिन वायर्डका अनुसार यो एप टिकटकसँग मिल्दोजुल्दो हुनेछ । तर, यसमा सबै एआईले बनाएका भिडिओ मात्र रहनेछन् । एपमा टिकटक जस्तै भर्टिकल भिडिओ फिड र स्वाइप गरेर स्क्रोल गर्ने सुविधा हुनेछ । 

प्रयोगकर्ताको रुचि अनुसार भिडिओ देखाउने ‘फर यु’ जस्तै पेज पनि हुनेछ, जसलाई एक विशेष एल्गोरिदमले सञ्चालन गर्नेछ । भिडिओको दायाँपट्टि लाइक, कमेन्ट र रिमिक्स गर्ने विकल्प उपलब्ध हुनेछन् ।

वायर्डका अनुसार प्रयोगकर्ताले ओपनएआईको नयाँ भिडिओ मोडेल प्रयोग गरी १० सेकेन्डसम्मको भिडिओ क्लिप बनाउन सक्नेछन् । तर, आफ्नो क्यामेरा रोल वा अन्य एपबाट फोटो वा भिडिओ अपलोड गर्ने विकल्प भने हुनेछैन ।

सोरा २ एपको सबैभन्दा विशेष सुविधा यसको ‘आइडेन्टिटी भेरिफिकेसन’ (Identity Verification) हुनेछ । यसबाट प्रयोगकर्ताले आफ्नो अनुहारको प्रतिरूप (लाइक्लिनेस) पुष्टि गर्न सक्नेछन् । पहिचान प्रमाणित भएपछि प्रयोगकर्ताले आफ्नो अनुहार भिडिओमा प्रयोग गर्न पाउनेछन् । साथै अन्य प्रयोगकर्ताले पनि उनीहरूलाई ट्याग गरेर उनीहरूको ‘प्रतिरूप’ भिडिओमा प्रयोग गर्न सक्नेछन् । उदाहरणका लागि कुनै व्यक्तिले आफ्नो साथीसँग कतै घुमेको देखिने भिडिओ बनाउन सक्नेछन् । कसैको प्रतिरूप प्रयोग हुने बित्तिकै सम्बन्धित व्यक्तिले नोटिफिकेसन पाउनेछ । यतिसम्मकी भिडिओ ड्राफ्टमै छ भने पनि त्यसको नोटिफिकेसन प्रतिरूप प्रयोग हुने व्यक्तिको एपमा जानेछ ।

ओपनएआईले गत हप्ता यो एप आन्तरिक रूपमा लन्च गरेको थियो । जसरी च्याटजीपीटीले एआई-जेनेरेटेड टेक्स्टको सम्भावनालाई आम मानिससम्म पुऱ्यायो, त्यसरी नै सोरा २ एपले एआई-जेनेरेटेड भिडिओको अनुभवलाई परिवर्तन गर्ने ओपनएआईको विश्वास छ । अमेरिकामा टिकटकको भविष्य अनिश्चित भइरहेको अवस्थामा ओपनएआईले यो एपलाई एक अवसरको रूपमा हेरेको छ ।

बजारमा ओपनएआईको सोरा २ ले मेटा र गुगल जस्ता ठुला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । मेटाले हालै आफ्नो एआई एपमा ‘भाइब्स’ नामक एआई भिडिओ फिड सुरु गरेको छ भने गुगलले आफ्नो भिडिओ मोडेल ‘भिओ ३’ (Veo 3) लाई युट्युबमा ल्याउने तयारी गरेको छ ।‍

ओपनएआईले सोरा २ आम सर्वसाधारणका लागि कहिले उपलब्ध गराउँछ अनि यो सशुल्क मात्र उपलब्ध हुन्छ वा निःशुल्क पनि उपलब्ध हुन्छ भन्ने विषय खुलाइएकोन छैन । हाल सोराबाट भिडिओ बनाउनका लागि सब्स्क्रिप्सन लिएको हुनुपर्छ । तर, सोरा २ एप आइसकेपछि त्यसमा भएका भिडिओ कसले कसरी हेर्न पाउँछन् भन्ने स्पष्ट भइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८२ १६:५९