जेनजी विद्रोहमा सरकारविरुद्ध माहोल बनाउन ३४% नक्कली सामाजिक सञ्जाल अकाउन्ट प्रयोग भएको दाबी
असोज २१, २०८२ १०:२१
काठमाडौँ । नेपालमा हालै भएको जेनजी विद्रोहको क्रममा सामाजिक सञ्जालमा व्यापक रूपमा नक्कली खाता सक्रिय भएको एक अध्ययनले देखाएको छ । साइबर सुरक्षा तथा सामाजिक सञ्जाल विश्लेषण गर्ने संस्था ‘Cyabra’ ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आन्दोलनसँग सम्बन्धित ३४ प्रतिशत सामाजिक सञ्जाल खाता नक्कली थिए, जसको प्रयोग संगठित रूपमा सरकारविरोधी माहोल फैलाउन गरिएको थियो ।
संस्थाले ‘नेपाल प्रोटेस्ट्स २०२५: अनलाइन न्यारेटिभ्स एन्ड फेक प्रोफाइल इन्फ्लुएन्स’ शीर्षकमा सार्वजनिक गरेको प्रतिवेदनले अनलाइन बहसले कसरी आन्दोलनलाई आकार दियो र जनमत प्रभावित पार्न नक्कली खाताको प्रयोग गरियो भन्ने खुलासा गरेको छ ।
अध्ययनले एक्समा विश्लेषण गरिएका ३,६८५ प्रोफाइलमध्ये १,२८८ अर्थात् ३४ प्रतिशत खाता नक्कली रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदन अनुसार संख्यामा थोरै देखिए पनि यी नक्कली खाताको प्रभाव निकै ठुलो थियो । आन्दोलनसम्बन्धी कुल १४ लाख अन्तर्क्रियामध्ये ११.५ प्रतिशत (एक लाख ६४ हजारभन्दा बढी) यिनै नक्कली खाताले सिर्जना गरेका थिए ।
त्यस्तै उनीहरूले फैलाएको सामग्रीको सम्भावित पहुँच (पोटेन्सियल रिच) ३२ करोड ६० लाख थियो, जुन कुल सम्भावित पहुँचको १४ प्रतिशत हो ।
यी नक्कली खाताले #GenZProtest, #WakeUpNepal र #EnoughIsEnough जस्ता वास्तविक प्रयोगकर्ताले चलाएका ह्यासट्याग प्रयोग गरी बहसमा प्रवेश गरेका थिए । उनीहरूले सरकार र प्रहरीविरुद्धका दाबीलाई व्यापक बनाउने, प्रदर्शनलाई समर्थन गर्ने र मानिसलाई सडकमा आउन उक्साउने काम गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले अनलाइन बहसमा तीन ओटा प्रमुख न्यारेटिभ हाबी भएको देखाएको छ । पहिलो: युवा नेतृत्वको लोकतान्त्रिक आन्दोलन, जसमा युवालाई परिवर्तनको संवाहक देखाइएको थियो । दोस्रोमा प्रहरी दमन र राज्य हिंसा देखाइएको थियो जसले सरकारलाई दमनकारीको रूपमा चित्रण गर्यो । त्यस्तै तेस्रोमा राजनीतिक सङ्कटलाई अगाडि ल्याइएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेतृत्वको राजीनामा माग गरिएको थियो ।
अध्ययन अनुसार ६ र ७ सेप्टेम्बरमा सामाजिक सञ्जालमा ८ सेप्टेम्बरको प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै पोस्टको बाढी आएको थियो । ती पोस्टमा एआई-निर्मित तस्बिरको व्यापक प्रयोग भएको थियो । तर ८ र ९ सेप्टेम्बरमा प्रदर्शन हिंसात्मक बनेपछि अनलाइन बहसको स्वरूप बदलिएर आक्रोश र हिंसाका विवरणमा केन्द्रित भएको थियो ।
हेर्नुहोस् प्रतिवेदन
पछिल्लो अध्यावधिक: असोज २१, २०८२ ११:७
