close

युट्युबर मिस्टर बिस्टलाई एआईको डर, भन्छन्ः लाखौँ कन्टेन्ट क्रियटरको भविष्य के होला ?

टेकपाना टेकपाना

असोज २२, २०८२ १३:१२

युट्युबर मिस्टर बिस्टलाई एआईको डर, भन्छन्ः लाखौँ कन्टेन्ट क्रियटरको भविष्य के होला ?

काठमाडौँ । विश्वका सबैभन्दा चर्चित युट्युबर मिस्टर बिस्टले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासलाई ‘डरलाग्दो’ भनेका छन् । शब्दकै भरमा आकर्षक भिडिओ बनाइदिने सोरा नामक टुलको आगमनपछि मिस्टर बिस्टले ‘कन्टेन्ट क्रियटर’को भविष्यप्रति चिन्ता व्यक्त गरेका हुन् ।

पछिल्ला केही वर्षमा शब्दकै भरमा पूर्ण भिडिओ बनाउन सक्ने एआई टुलले ठुलो फड्को मारेका छन् । यसै हप्ता सार्वजनिक भएको ओपनएआईको ‘सोरा’ नामक एआई टुलको नयाँ भर्सनले यस बहसलाई थप तताएको छ । यसले सजिलैसँग कपिराइट भएका पात्र र कन्टेन्ट बनाउन सक्ने देखिएपछि यसको आलोचना पनि भइरहेको छ ।

यसैबिच मिस्टर बिस्टले पनि जेनेरेटिभ एआईलाई लिएर आफ्नो धारणा राखेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “एआई भिडिओ सामान्य भिडिओ जत्तिकै राम्रा हुँदा हामी जस्ता मानिसको के हुन्छ ?”

एआईले रोजगारी बजारमा पार्ने असरबारे विश्वव्यापी रूपमा चिन्ता बढिरहेको छ । विशेषगरी फिल्म, भिडिओ गेम र अन्य रचनात्मक उद्योगमा यो चिन्ता अझ व्यापक छ । एआईको प्रयोगलाई लिएर यी क्षेत्रमा ठुला औद्योगिक आन्दोलन समेत भएका छन् ।

एकातिर एआईप्रति डर बढिरहेको छ भने अर्कोतिर यसको प्रयोग पनि व्यापक रूपमा भइरहेको छ । उदाहरणका लागि युट्युब आफैँले कन्टेन्ट क्रियटरका लागि जेनेरेटिभ एआई उपकरण उपलब्ध गराइरहेको छ । युट्युब शर्ट्मा भिडिओ जेनेरेसन मोडेल भिओ इन्टिग्रेट गर्ने गुगलको रणनीति यसैको उपज हो । 

साथै, एआईको प्रयोग भिडिओमा स्वतः सबटाइटल राख्न वा स्क्रिप्टलाई अझ राम्रो बनाउन पनि भइरहेको छ । त्यस बाहेक डबिङमा पनि एआईको प्रयोग उत्तिकै भइरहेको छ । 

नटिङ्घम ट्रेन्ट विश्वविद्यालयका डिजाइन र इनोभेसनका प्राध्यापक लार्स एरिक होल्मक्विस्टले बीबीसीलाई भने अनुसार युट्युबमा केही भिडिओ पूर्ण रूपमा एआईद्वारा बनाइएका छन् । खासगरी मानिसलाई निदाउन मद्दत गर्ने लामा भिडिओ प्रायः एआई सिर्जित नै हुन् ।

उनी थप्छन्, “एआईलाई एउटा उपकरणको रूपमा हेर्दा यसले रचनात्मकतालाई धेरै सस्तो बनाएको छ । छोटो अवधिमा जसले यसलाई साँच्चै राम्रो सामग्री बनाउन प्रयोग गर्छ उही सफल हुनेछ ।”

प्राध्यापक होल्मक्विस्टको विचारमा मिस्टर बिस्ट जस्ता क्रियटरलाई एआई-निर्मित भिडिओले विस्थापित गर्ने सम्भावना कम छ । उनी भन्छन्, “उनको सम्पूर्ण शैली नै मानिसलाई पैसाका लागि अप्ठ्यारो वा खतरनाक काम गर्न लगाउनु हो र यदि यो वास्तविक नहुने हो भने कसैले पनि हेर्ने थिएन ।”

तर, मिस्टर बिस्ट जस्तो ठुलो प्रोफाइल भएको व्यक्तिले आफ्नो सामान्य भिडिओ प्रचारप्रसारको सट्टा यो विषयमा बोल्नुले यसको गम्भीरतालाई दर्शाउँछ ।

एआईले मिस्टर बिस्ट जस्ता क्रियटरलाई प्रोडक्सन वा ग्राफिक्समा मद्दत गर्न सक्छ । वास्तवमा उनले यस वर्षको सुरुमा एउटा प्रयोग पनि गरेका थिए । उनले भिडिओको थम्बनेल बनाउने एउटा एआई टुल सार्वजनिक गरे । तर उक्त टुलका कारण उनले अन्य क्रियटरबाट चर्को आलोचनाको सामना गर्नुपर्‍यो ।

खासगरी मिस्टर बिस्टको एआई टुलले अन्य क्रियटरको कपिराइटयुक्त थम्बनेल कपी गरेको भन्दै त्यसलाई तालिम दिन प्रयोग गरिने डेटामाथि प्रश्न उठ्यो । यो विवादपछि मिस्टर बिस्टले आफ्नो प्लेटफर्मबाट उक्त टुल हटाए र त्यसको सट्टा मानव डिजाइनरको लिङ्क उपलब्ध गराएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १३:१२