मतदाता नामावली दर्ता: जुनसुकै निर्वाचन कार्यालयबाट फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने
असोज २२, २०८२ १७:३०
काठमाडौँ । मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि जुनसुकै निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने भएको छ । बुधबार एक सूचना जारी गर्दै निर्वाचन आयोगले अनलाइन फारम भरेका व्यक्तिहरूले नजिकको कुनै पनि जिल्ला निर्वाचन कार्यालयमा गएर आवश्यक प्रक्रिया पूरा गर्न सक्ने जनाएको हो ।
अनलाइन आवेदन applyvr.election.gov.np बाट भरेपछि आवेदकले फोटो खिचाउने र बायोमेट्रिक दिने मिति र स्थानबारे जानकारी लिन सक्ने छन् ।
यस व्यवस्था अनुसार काठमाडौं उपत्यकाभित्रका मिनभवनस्थित जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित ललितपुर जिल्ला निर्वाचन कार्यालय र सल्लाघारी सिर्जनानगरस्थित भक्तपुर जिल्ला निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ ।

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन जारी राखेको छ । १६ वर्ष उमेर पूरा भएका र नेपाली नागरिकताको प्रमाणपत्र भएका हरेक नागरिकले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
यो प्रक्रिया प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूका साथै अनलाइन माध्यमबाट पनि गर्न सकिने आयोगले जनाएको छ । नामावली सङ्कलनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्बन्धित कार्यालयहरूमा नाम दर्ता गराउन सकिनेछ ।
अनलाइन प्रि-रजिस्ट्रेसन आवेदन प्रक्रिया
मतदाता नामावलीमा नाम दर्ता गर्नमात्रै होइन यसअघि आफ्नो विवरणमा भएका त्रुटि सच्याउन वा ठेगाना सार्नका लागि पनि अनलाइनबाट प्रि-रजिस्ट्रेसन गर्न सकिन्छ । आज हामी नयाँ दर्ता कसरी गर्ने भनेर जानकारी दिँदैछौँ:
-
यसका लागि सबैभन्दा पहिले निर्वाचन आयोगको आधिकारिक वेबसाइटको यो लिङ्कमा जानुहोस् ।
-
त्यहाँ ‘नयाँ दर्ता’ र ‘नामावली अद्यावधिक’ गरी दुई विकल्प देख्नुहुनेछ ।
- यदि तपाईंले अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छैन भने ‘नयाँ दर्ता’ मा क्लिक गर्नुहोस् । पुरानो मतदाता हुनुहुन्छ र विवरणमा रहेको त्रुटि सच्याउन वा मतदाता नामावली सार्न चाहनुहुन्छ भने ‘नामावली अद्यावधिक’ मा क्लिक गर्नुहोस् ।
- नयाँ दर्ता फारम भर्नका लागि सुरुमा आफ्नो फोन नम्बर हाल्नुपर्छ ।
- फोन नम्बर राखिसकेपछि उक्त नम्बरमा एउटा ओटीपी आउँछ । उक्त ओटीपीलाई आयोगको वेबसाइटमा तोकिएको स्थानमा भर्नुहोस् ।
- ओटीपी राखेपछि देखिने नयाँ विन्डोमा तपाईंले विवरण भर्ने विभिन्न चरण पार गर्नुपर्छ ।
- त्यहाँ देखिएको ‘नयाँ दर्ता’ मा क्लिक गरी ‘आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू’ पढी ‘हालसम्म मेरो मतदाता नामावलीमा समावेश भएको छैन’ लेखिएको स्थानमा टिक लगाई ‘सुरु गर्नुहोस्’ मा थिच्नुहोस् ।
-
अब खुल्ने नयाँ विन्डोमा प्रदेश, जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नम्बर राखी मतदान स्थलको नाम राखेर अर्को फारममा जानुहोस् ।
-
अब व्यक्तिगत विवरण भर्नुपर्छ । यहाँ मतदाताको नाम (नेपाली र अंग्रेजीमा), पेशा, शैक्षिक योग्यता, मातृभाषा, वैवाहिक स्थिति, लिङ्ग, नाता (बाजे, बुवा/आमा, पति/पत्नीको नाम), टेलिफोन नम्बर, मोबाइल नम्बर र ईमेल ठेगाना भरी अर्को फारममा जानुहोस् ।
-
अब आउने चरणमा जन्ममिति, नागरिकता जारी भएको जिल्ला र मिति, जन्मस्थल र स्थायी बसोबास विवरणहरू भर्नुपर्छ । साथै, १०० केबीभन्दा कम साइज नभएको नागरिकताको फोटो राख्नुपर्छ र नयाँ फारमका लागि अगाडि बढ्नुपर्छ ।
-
यदि तपाईं अपाङ्गता भएको व्यक्तिमा पर्नुहुन्छ भने कुन किसिमको अपाङ्गता हो खुलाउनुहोस् ।
-
यसपछि मातृभाषा, शैक्षिक योग्यता र समूह वर्ग छानी अगाडि बढ्नुहोस् ।
-
-
अब तपाईंले फोटो खिचाउने र औँठाछाप दिने (बायोमेट्रिक) स्थान र मिति छान्नुपर्छ ।
-
सबै विवरण भरिसकेपछि 'रुजु गर्नुहोस्' र सबै विवरण सही भएमा 'दर्ता गर्नुहोस्' बटनमा थिच्नुहोस् । यसपछि तपाईंको अनलाइन आवेदन दर्ता हुन्छ ।
अनलाइन आवेदन दर्ता भएपछि मतदाताले फोटो खिचाउन र औँठाछाप दिन (बायोमेट्रिक) अनलाइनबाट प्राप्त दर्ता फारम, आफ्नो नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि, स्थायी ठेगाना बाहेकको हकमा बसाइँ सराई प्रमाणपत्र र त्यसको प्रतिलिपि र विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र त्यसको प्रतिलिपि सँगै लैजानुपर्छ ।
पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १७:४१
