close

टेलिग्रामका सीईओ दुरोभको चेतावनीः इन्टरनेट स्वतन्त्रताभन्दा नियन्त्रणको अन्तिम हतियार बन्दैछ

टेकपाना टेकपाना

असोज २६, २०८२ १५:८

टेलिग्रामका सीईओ दुरोभको चेतावनीः इन्टरनेट स्वतन्त्रताभन्दा नियन्त्रणको अन्तिम हतियार बन्दैछ

काठमाडौं । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पाभेल दुरोभले इन्टरनेट ‘सूचनाको स्वतन्त्र आदानप्रदान’को माध्यमबाट ‘नियन्त्रणको अन्तिम हतियार’ मा परिणत हुँदै गएको बताएका छन् । शुक्रबार आफ्नो ४१ औँ जन्मदिनको अवसरमा सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अर्ब पति दुरोभले इन्टरनेटको भविष्यबारे चिन्ता व्यक्त गरेका हुन् । 

उनले बेलायत, अस्ट्रेलिया, जर्मनी र युरोपेली देशले अपनाएका ‘निराशाजनक’ उपायको आलोचना गरेका छन् । दुरोभले लेखेका छन्, “म ४१ वर्षको भएँ, तर मलाई उत्सव मनाउने मन छैन । हाम्रा पिता-पुर्खाले हाम्रो लागि बनाएको स्वतन्त्र इन्टरनेट बचाउन हाम्रो पुस्तासँग समय सकिँदैछ । पहिले जसलाई सूचनाको स्वतन्त्र आदानप्रदानको बाचा भनिन्थ्यो, अहिले त्यो नै नियन्त्रण गर्ने अन्तिम हतियार बन्दै गएको छ ।”

उनले थपे, “हामी सुतिरहेका बेला एउटा अँध्यारो, निराशाजनक संसार तीव्र गतिमा आउँदैछ । हाम्रो पुस्ता इतिहासमा स्वतन्त्रता भएको अन्तिम पुस्ताको रूपमा चिनिने र त्यो स्वतन्त्रता खोसिन दिने पुस्ता बन्ने जोखिममा छ ।”

आफ्नो भनाइलाई पुष्टि गर्न दुरोभले जर्मनी, बेलायत, अस्ट्रेलिया र युरोपेली सङ्घको उदाहरण दिएका छन् । “एक समयका स्वतन्त्र देशहरूले नै आज डरलाग्दा उपायहरू अपनाई रहेका छन्,” उनले अगाडि भनेका छन्, “जस्तै बेलायतमा डिजिटल परिचयपत्र, अस्ट्रेलियामा अनलाइन उमेर प्रमाणीकरण र युरोपेली सङ्घमा प्राइभेट च्याटको सामूहिक निगरानी गरिरहेका छन् ।” 

जर्मनीले इन्टरनेटमा सरकारी अधिकारीको आलोचना गर्ने जोकोहीलाई दमन गरिरहेको आरोप उनले लगाएका छन् । त्यस्तै ट्वीटकै कारण हजारौँलाई  बेलायतले जेल हालिरहेको छ, फ्रान्सले स्वतन्त्रता र गोपनीयताको रक्षा गर्ने प्रविधि क्षेत्रका व्यक्तिमाथि आपराधिक अनुसन्धान गरिरहेको बताएका छन् ।

रोचक कुरा के छ भने दुरोभलाई गत वर्ष अगस्टमा फ्रान्सले नियन्त्रणमा लिएको थियो । टेलिग्राममा हुने अवैध गतिविधिलाई नियन्त्रण गर्ने कार्यमा सहजीकरण गरेको आरोपमा उनी पक्राउ परेका थिए । 

फ्रान्सेली अधिकारीले टेलिग्रामको कमजोर मध्यस्थता, इन्क्रिप्टेड च्याट र डिस्पोजेबल नम्बर तथा क्रिप्टोकरेन्सीको प्रयोगले प्लेटफर्ममा ठुलो सङ्ख्यामा आपराधिक गतिविधिलाई बढावा दिएको दाबी गरेका छन् ।

आफ्नो हालैको पोस्टमा दुरोभले समाज आत्म-विनाशको बाटोमा रहेको चेतावनी दिँदै यही कारणले आफूले जन्मदिन नमनाउने बताएका छन् । उनले लेखेका छन्, “हामीले हाम्रा पुर्खाहरूको विरासतलाई धोका दिएर आफूलाई नैतिक, बौद्धिक, आर्थिक र अन्ततः जैविक रूपमा आत्म-विनाशको बाटोमा स्थापित गरेका छौँ । त्यसैले म आज उत्सव मनाउँदिन । मसँग समय सकिँदैछ । हामीसँग समय सकिँदैछ ।”

सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले दुरोभको पोस्टलाई रिपोस्ट गर्दै उनको भनाइप्रति समर्थन जनाएका छन् । यद्यपि उनले दुरोभले उठाएका कुनै पनि मुद्दामा छुट्‍टै टिप्पणी भने गरेनन् ।

मस्कले यसअघि पनि बेलायत सरकारले सामाजिक सञ्जाल पोस्टका आधारमा प्रयोगकर्तालाई पक्राउ गरेकोमा आलोचना गरेका थिए । आफूलाई ‘अभिव्यक्ति स्वतन्त्रताको कट्टर पक्षधर’ मान्ने मस्कले गत वर्ष फ्रान्सेली अधिकारीले दुरोभलाई पक्राउ गर्नुलाई सरकारी हस्तक्षेपको संज्ञा दिएका थिए ।

 

पछिल्लो अध्यावधिक: असोज २६, २०८२ १५:८