जेन-जी आन्दोलनपछि विकसित परिस्थिति र दलहरूलाई प्रविधिप्रेमी पुस्ताको सुझाव
असोज २७, २०८२ १७:१२
आदरणीय पुरातनवादी नेपाली दलहरू,
प्रविधिप्रेमी जेन-जी पुस्ता र तपाईँहरूको भ्रष्ट शासकीय कार्यशैलीमा तालमेल नमिल्दा नेपालको इतिहासमा नयाँ खाले जेन-जी क्रान्ति भएको छ । २३ भदौ २०८२ मा जेनजीको प्रदर्शनमा सरकारले घटाएको ‘जेन-जी पर्व’का कारण २४ भदौका दिन देश नै रणमैदान बन्न पुग्दा ७५ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लोकतन्त्रको मूल्यमान्यता विपरीत तपाईँहरूमा बढ्दै गएको शासकीय क्रूरता, गुटतन्त्र, लुटतन्त्र र घुसतन्त्रका कारण जनताको धैर्ययताको बाँध फुटेपछि आखिरी एकै दिनको जेनजी चुटतन्त्रले सत्ताच्युत हुनुभएको छ ।
जेन-जीसहित समग्र जनताले तपाईँ दलहरूलाई सुध्रिने अपार मौका प्रदान गरेका छन् । तर पनि सो मौकालाई अनदेखा गर्दै फेरि पनि पुरानै रवैया देखाउनतिर नलाग्नुहोस्, सच्चिनु होस् र नयाँ आयाम सहित नयाँ नेपाल निर्माणको मार्गमा आउनुहोस् । त्यसका लागि यथाशीघ्र पार्टी पुनर्गठन गर्नुहोस्, पार्टीका सबै समितिहरू खारेज गर्दै हालको पार्टी विधान निलम्बन गर्नुहोस् र यथाशीघ्र विशेष महाधिवेशन आयोजना गरी अन्तरिम विधान बनाई अघि बढ्नुहोस् । अन्तरिम विधानमा निम्न विषयहरूलाई सम्बोधन गर्नुहोस् ।
सेरेमोनियल पार्टी नेतृत्वको व्यवस्था
२०४६ सालको प्रजातन्त्र ल्याउने आन्दोलनसहित विभिन्न चरणमा गणतन्त्र स्थापना गर्न पुराना दलका नेताहरूले ठुलै योगदन गरेका छन् । तथापि सोही योगदानको ब्याज खाने काम धेरै भयो । अब नयाँ युग अनुसार चल्ने गरी पुराना कुरालाई इतिहासमा दस्ताबेजको रूपमा राख्नुहोस् र सो विषयलाई मनन् गर्दै ७० वर्ष नाघेका, दिमाग कमजोर भएका, आन्दोलन गर्न र मान्छे भड्काउन मात्र जानेका, कुनै बौद्धिकता-भिजन नभएका, रोगी, बुढा नेताहरूलाई दलबाट ससम्मान बिदा गर्नुहोस् ।
७० नाघेपनि निरोगी, भिजन भएका र उच्च योगदान दिएका बुढा नेताहरू मध्य एक जनालाई पार्टीको सेरेमोनियल पार्टीपति वा सभापति (राष्ट्रपति जस्तै) बनाउनुहोस् । पार्टीपतिलाई समय सापेक्ष उत्तम सल्लाह दिन सक्ने राष्ट्र निर्माणमा योगदान दिएका, निरोगी, बुद्धिजीवी, भिजन भएका, गुटतन्त्र, लुटतन्त्र र घुसतन्त्रमा नलागेका ६० नाघेका नेताहरूको कम्तीमा ११ जनाको पार्टीपति सल्लाहकार परिषद् निर्माण गर्नुहोस् । यसो भएदेखि योगदान गरेका बुढा नेताहरूको उचित व्यवस्थापन हुनेछ । सल्लाहकार परिषद्को सल्लाहमा पार्टीपतिले पार्टी सञ्चालनमा केही उपयोगी दिशानिर्देश गर्न सक्नेछन् ।
कार्यकारी अध्यक्ष वा महासचिव वा कमान्डरको व्यवस्था
सकिन्छ भने तपाईँको दलमा सबै कार्यकर्ताहरूले छान्न पाउने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउनुहोस् । हैन भने वडास्तरको निर्वाचित पार्टी प्रमुखदेखि केन्द्रसम्मको विभिन्न समितिमा निर्वाचित प्रमुखहरूको निर्वाचनबाट ६० वर्ष ननाघेको, गुटतन्त्र, लुटतन्त्र र घुसतन्त्रमा नलागेको, स्वच्छ छवि भएको, निरोगी, बुद्धिजीवी र भिजन भएको, दललाई नेतृत्व दिन सक्ने/लेख्न सक्ने/स्पष्ट बोल्न सक्ने कार्यकारी अध्यक्ष वा महासचिव वा कमान्डर जे भन्नुहुन्छ, सो छान्नुहोस् ।
शासकीय स्वरूप निर्धारण समिति
पार्टीको अन्तरिम विधानमा संविधानमा निम्न संशोधनको व्यवस्थाको लागि कम्तीमा ३० प्रतिशत जेनजीहरू समावेश गरी बढीमा २१ जनाको शासकीय स्वरूप परिमार्जन समिति निर्माण गर्नुहोस् । उक्त समितिले बृहत् छलफल गरी सहमतिका आधारमा निम्न संविधान संशोधनको खाका तयार पार्नेछ ।
-
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र दल बाहिरको राष्ट्रपतिः संविधानमा ५ वर्षको लागि पूर्णकालीन प्रधानमन्त्री चयन गर्ने व्यवस्था गर्नुहोस् । प्रशासनिक, सामाजिक, आर्थिक र शैक्षिक विकासमा पूर्ण अधिकार प्राप्त पूर्णकालीन प्रधानमन्त्रीलाई बेलगाम घोडा हुन सक्ने प्रवृत्तिबाट जोगाउन राष्ट्रपति र संसदलाई केही विशेषाधिकार दिनुहोस । जसअनुसार जनहित र संवेदनशील देश हित विपरीत हर्कतहरू गर्न खोजेमा प्रधानमन्त्रीलाई कारबाही गर्ने व्यवस्था संविधानमा राख्नुहोस् । राष्ट्रपति राष्ट्रिय प्रतीक भएकाले सकेसम्म उक्त पदमा दलको कार्यकर्तालाई नियुक्त नगर्ने व्यवस्था गर्नुहोस् ।
-
सङ्घीय संसद् र प्रदेश संसद् अनि प्रादेशिक मन्त्रीपरिषद्को आकार ५०% कटौती गर्नुहोस् वा प्रदेश संरचना आवश्यक हो वा हैन औचित्य पुष्टिसहित छलफल गरेर राख्ने वा नराख्ने सम्बन्धमा सहमति गर्नुहोस् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बाहेक संसदीय चुनाव पूर्ण समानुपातिक बनाउनुहोस् ।
-
निर्वाचन पश्चात् मन्त्रीपरिषद् सङ्ख्याको ४०% पहिलो ठुलो पार्टीको सिफारिसमा, २०% दोस्रो वा तेस्रो (दोस्रो सहभागी नभएमा) ठुलो पार्टीको केन्द्रीय समितिको सिफारिसमा कार्यकारी प्रधानमन्त्रीबाट मन्त्रीपरिषद् गठन गर्ने व्यवस्था गर्नहोस् । बाँकी ४०% कार्यकारी प्रधानमन्त्रीले आफ्नो स्वविवेक प्रयोग गरी विशुद्ध स्वच्छ छविका बुद्धिजीवी र अनुभवी विज्ञ नागरिकहरूबाट छानेर संसदीय सुनुवाइ पश्चात् मन्त्री बनाउने व्यवस्था गर्नुहोस् । सांसदहरूलाई राज्यव्यवस्था, सामाजिक, आर्थिक, सांस्कृतिक आदि विषयमा अनुसन्धान गर्न, नीति-नियम र कानुन निर्माणमा मात्र संलग्न गराउनुहोस् ।
अन्तरिम प्रधानमन्त्रीको आह्वानमा सबै दलका शासकीय स्वरूप परिमार्जन समितिको गोलमेच सम्मेलन आयोजना गरी माथि उल्लिखित बुँदाहरूमा सहमति गराई संविधान संशोधन सम्झौता गर्नुहोस् । सोही संशोधित संविधान अनुसार २१ फागुनमा वा समय नपुगेमा सहमतिमै सङ्कटकाल लगाई नयाँ मिति घोषणा गरी चुनावमा होमिनुहोस् र चुनाव जितेर आएको पहिलो संसदीय बैठकबाट संविधानमा गरेको अन्तरिम व्यवस्थाको अनुमोदन गर्नुहोस् ।
पार्टी प्रतिबद्धतापत्र (मेनिफेस्टो) मा समावेश हुनु पर्ने योजनाहरू
स्मार्ट सरकारको अवधारणाः जेनजीको भावनालाई बुझेर राज्यव्यवस्था सञ्चालन र सेवा प्रवाहमा नयाँ प्रविधिको विकास र प्रयोगलाई अनुकूल हुने गरी कार्य योजना तयार गर्नुहोस् । द्रुत रूपमा विकसित सूचना-प्रविधिको जमानामा पनि हाम्रा सार्वजनिक संस्थान, विश्वविद्यालय र दलीय संरचनाहरू पुरातनवादी सोच अनुसार नै परिचालित रहेकोले सूचना-प्रविधिमैत्री स्मार्ट सरकार बनाउने योजना प्रस्तुत गर्नुहोस् ।
भ्रष्टाचार रहित र दुराचार मुक्त शासकीय पद्धतिः हाम्रा सरकारी/सार्वजनिक निकायहरू र मुख्य नेतृत्वको भान्छा सम्म नै गुट-उपगुट, निषेधित, पेसामुखी राजनीतिको खेती सञ्चालन भइरहेको हुनाले जनताको माग र चाहना विपरीत शासकको भ्रष्टाचार र दुराचारपूर्ण गतिविधिको परिणाम आज देशै नरहने हो कि भन्ने अवस्थामा पुगेको छ। तसर्थ पार्टी मेनिफेस्टोमा भ्रष्टाचारको अन्त्य गर्ने र उत्तरदायी सरकार निर्माणको प्रतिबद्धता जनाउँदै आगामी ५ वर्षको उत्तम शासकीय पद्धति अपनाउने योजना प्रस्तुत गर्नुहोस् ।
स्कुल शिक्षाः स्कुल शिक्षालाई व्यवहारिक बनाउन सुधारको योजना बनाउनुहोस् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री छान्नका लागि सबै जनता शिक्षित अनि सुसूचित हुन जरुरी छ । हैन भने भर्खर जेन-जीले सत्ताच्युत गरेका शासक जस्तै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएर आएमा देश र जनताले झन ठुलो दुःख भोग्नु पर्नेछ । गरिब, विपन्न र पिछडा तथा सीमान्तकृत वर्गलाई स्नातक तहसम्म पूर्ण निःशुल्क शिक्षा प्रदान गर्ने नीति ल्याउनुहोस् । तत्पश्चात् सरकारी तथा सार्वजनिक नकायहरूमा आरक्षित कोटा खारेज गरी पूर्ण योग्यतामा आधारित जनशक्ति भर्ना पद्धति अपनाउनुहोस् । सरकारी/सामुदायिक स्कुलको गुणस्तर सुधारसँगै सरकारी सेवक र दलका नेता/कार्यकर्ताका छोराछोरीले अनिवार्य सरकारी/सामुदायिक स्कुलमा पढ्नु पर्ने नीति ल्याउनुहोस् । सरकारी/सामुदायिक स्कुलमा निःशुल्क र पूर्ण शुल्कीय कार्यक्रम सञ्चालन गर्ने नीति अपनाउनुहोस । जस अनुसार धनी वर्गले तिरेको शुल्कले गरिब/विपन्नले निःशुल्क शिक्षा प्राप्त गरुन् । हाम्रा जेन-जीहरूले आफ्नो देश, समाज, भूगोल र धर्म/संस्कृति बिर्सिँदै गएको देखिएकोले स्कुल तहको १० कक्षासम्म अनिवार्य नैतिक शिक्षा र नेपाली समाजको बारेमा बुझाउन सकिने इतिहास/सामाजिक शिक्षाको व्यवस्था गर्नुहोस् ।
उच्च शिक्षाः त्रिभुवन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप कम गर्न सेरेमोनियल राष्ट्रपतिलाई कुलपति बनाउहोस् । अन्य विश्वविद्यालयहरूको पनि पुनः संरचना गरी प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाई ट्रस्टबाट सञ्चालन गर्ने प्रस्ताव गर्नुहोस् । २-४ वटा भोटो फटाएकै भरमा ज्येष्ठता र वरिष्ठताले विश्वविद्यालय लगायत कुनै पनि संस्था चल्दैन । त्यसैले प्रत्येक संस्थाको नेतृत्वमा उच्च कार्यक्षमता भएको अनुभवी लगनशील विज्ञलाई प्रतिस्पर्धा मार्फत नियुक्ति गर्ने प्रतिबद्धता गर्नुहोस् । भागबन्डाको लागि निर्मित विश्वविद्यालयका सबै दलीय सङ्घ/सङ्गठन खारेज गर्दै विश्वविद्यालयलाई खुराफाती राजनीति मुक्त गर्ने प्रण गर्नुहोस् ।
गुणस्तरीय र स्वरोजगारमुखी प्राविधिक शिक्षाः गुणस्तरीय प्राविधिक शिक्षा प्रदानमा जोड, क्षमतावान् जनशक्तिको विकास, प्रविधि अनुसन्धान र आफ्नै प्रणाली निर्माणमा युवाहरूको संलग्नता सुनिश्चित गर्दै स्वरोजगारमुखी पार्टी नीति तय गर्नुहोस् । सुरक्षा संवेदनशीलतासँग सम्बन्धितका साथै स्थानीय आवश्यकतालाई समेत परिपूर्ति गर्ने आफ्नै अनुसन्धान तथा विकासमा आधारित सूचना-प्रविधि प्रणालीहरू नेपाल भित्रै निर्माण गर्ने योजना प्रस्तुत गर्नुहोस् । विश्वविद्यालय र उद्योगसँगको सहकार्य, अनुसन्धान र विकासमा बृहत्तर लगानीसँगै रोजगारीको उचित व्यवस्था र उत्पादनमुखी कार्यमा युवाहरूलाई संलग्न गराउने योजना प्रस्तुत गर्नुहोस् ।
स्वास्थ्य नीतिः स्वास्थ्य सेवा कोष स्थापना गर्न प्रस्ताव गर्नुहोस् । उक्त कोषमा वर्ग सम्पन्नताको क्षमताको आधारमा स्वास्थ्य बीमा प्रणाली अपनाउनुहोस् र सोही अनुसार सबै नागरिकलाई नेपालका जुनै अस्पतालबाट पनि निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने खाका प्रस्ताव गर्नुहोस् । सूचना-प्रविधि टेलिमेडिसिन सेवा सहित स्वास्थ्य सेवाको पहुँच देशैभर विस्तार गर्ने योजना तयार गर्नुहोस् । सरकारी सेवकहरूको नेपालका जुनै अस्पतालबाट पनि निःशुल्क स्वास्थ्य उपचार गरिने व्यवस्था गर्नुहोस् ।
अन्त्यमा, माथि उल्लिखित बाहेक सुधारका क्षत्रहरू थुप्रै छन्, थपेर आफ्नो पार्टीको प्रतिबद्धता-पत्र तयार गर्नु होला । जनताको मन जितेर चुनावमा कति भोट प्राप्त गर्ने तपाईँहरूको प्रतिबद्धता-पत्रले नै तय गर्नेछ । तपाईँहरू फेरि उठ्ने हो, जुट्ने हो र सत्ता सञ्चालन गर्ने हो भने कम्तीमा जेन-जी र अन्तरिम सरकारलाई सहयोग गर्दै नयाँ शिराबाट पार्टी पुनर्गठन गरी २ महिनाभित्र सर्वदलीय र जेन-जीहरूको गोलमेच सम्मेलन गर्दै माथि उल्लिखित सुधारका विषयमा बृहत् छलफल र सहमति मार्फत संविधान संशोधन गरी चुनावमा सहभागी हुनुहोस् र यही चुनावको जनादेश मार्फत देश निर्माण कार्यमा जुट्नुहोस्, सबै दलहरूलाई शुभकामना ।
(यस लेखमा प्रविधिप्रेमी जेन-जी पुस्ताको मर्म र देशमा पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजर गर्दै लेखक दवाडीले विशुद्ध रूपमा आफ्नो व्यक्तिगत धारणामा रहेर दलहरूलाई केही सुझावहरू प्रस्तुत गरिएको हो ।)
पछिल्लो अध्यावधिक: असोज २७, २०८२ १७:१३
