close

फ्याक्टचेकः सञ्चारमन्त्री खरेलले १ करोड मूल्यको रोलेक्स घडी लगाए भन्दै फैलिएको दाबी भ्रामक

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक १, २०८२ २१:३९

फ्याक्टचेकः सञ्चारमन्त्री खरेलले १ करोड मूल्यको रोलेक्स घडी लगाए भन्दै फैलिएको दाबी भ्रामक

काठमाडौँ । शुक्रबारदेखि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले रोलेक्सको घडी लगाएको दाबीसहितको भिडिओ भाइरल भइरहेको छ । मन्त्रालयले तिलिचो बेसक्याम्पमा फोरजी सञ्चालनमा आएको जानकारी दिंदै आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडिओमा मन्त्री खरेलले घडी लगाएको देखिएको थियो ।

त्यही भिडिओबाट लिइएका क्लिपलाई आधार मान्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री खरेलले एक करोड बढी मूल्य पर्ने रोलेक्स घडी लगाएको दाबी गरेका छन् । टेकपाना फ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा सञ्चारमन्त्री खरेलले लगाएको घडी रोलेक्स नभई जापनिज ब्रान्ड रुस्टर भएको पुष्टि भएको छ ।

दाबी

‘मिसन पीएम’ नामको फेसबुक पेजले शुक्रबार (१७ अक्टोबर २०२५) राति १०ः२९ बजे एक पोस्ट राख्यो । पोस्टको क्याप्सनमा लेखिएको थियो, “कांग्रेसका सञ्चार मन्त्री जगदीश खरेल लाई कान्तिपुरका मालिकले दिएको लगभग 1 करोडको रोलेक्सको घडी लगाएर रमाएका छन।” उक्त पोस्टको फोटोमा मन्त्री खरेलले घडी लगाएको फोटो एउटा छेउमा र अर्को छेउमा मन्त्री खरेलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेको फोटो राखिएको छ । र, माथि खरेलले लगाएको घडी ‘रोलेक्स डेटोना एल्लो गोल्ड ओएस्टरफ्लेक्स च्याम्पान्जे डायल ४० एमएम (Daytona Yellow Gold Oysterflex Champagne Dial 40mm) रहेको स्क्रिनशट राखिएको छ ।

उक्त स्क्रिनशटमा घडीको मूल्य ७० हजार डलर रहेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ६५८ रियाक्सन, ११८ कमेन्ट र १३५ पटक शेयर भएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।​

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले खरेलले लगाएको घडीबारे आएका विभिन्न दाबीबारेका पोस्ट खोज्न थाल्यो । त्यस क्रममा ‘कमल बोहरा आरएसपी’* नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “कांग्रेसका सञ्चार मन्त्री जगदीश खरेल लाई कान्तिपुरका मालिकले दिएको लगभग 1 करोडको रोलेक्सको घडी लगाएर रमाएका छन। हैन नेता भय सी करोडको घडी लगाउनु पर्छ र स्रोत समाजिक संजाल ।” यसमा पनि त्यही फोटो राखिएको छ । कमल बोहराले राति १०ः५१ बजे पोस्ट राखेको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

‘सचेत खबर’ नामको फेसबुक पेजले फोटोको ठाउँमा भिडिओ राखेको छ । राति १०ः१४ बजे राखेको यही भिडिओ पहिलो पटक राखेको देखिन्छ । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “कांग्रेसका सञ्चार मन्त्री जगदीश खरेल लाई कान्तिपुरका मालिकले दिएको लगभग 1 करोडको रोलेक्सको घडी लगाएर रमाए।” हर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

नेपाल सरकारका पूर्वसचिव समेत रहेका भीम उपाध्यायले शनिबार त्यही फोटो राख्दै लेखेका छन्, “यो पनि AI नै होला केरे । रोलेक्स सक्कली कि नक्कली कि AI ले टॉसेको हो कि?  धनिले नै भने हुन्तो कर!” उक्त पोस्टमा ३४०० बढी रियाक्सन, ४९८ कमेन्ट र ५६ ओटा शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

त्यस्तै युवराज पौडेल सफलले त्यही स्क्रिनशट राखेका छन् । त्यसको क्याप्सनमा लेखेका छन्, “त्यही भएर घडी नलगाएको मैले ।एकपटक एकजना मेरो नजिकैको साथीले नक्कली रोलेक्स घडी करिब नेपाली ३५/४० हजार पर्ने दिनु भएको थियो ,त्यो घडी मैले लगाउन सकिन ,कारण मेरो त्यति रुपैयाँको घडी किन्ने हैसियत थिएन ,लगाएपछि मान्छेले स्रोत खोज्छन् पक्कै । कुनै साथी ,आफन्त ,मित्रले सानातिना उपहार दिनु अलग्गै हो तर करोडौंको घडी दिनेले निस्वार्थ त पक्कै दिएको होइन होला ? यस्तो आदर्शको कुरा गर्नेहरुले किन यसरी करोडौंको घडी लगाएको होला ??” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

एक्समा अर्जुन ज्ञवालीले लेखेका छन्, “के यो कुरा साचो हो ?” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

तथ्यजाँचका क्रममा हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकमा राखेको भिडिओ डाउनलोड गर्‍यौं । र, त्यहीबाट घडी स्पष्ट देखिने किफ्रेम निकाल्यौं । हेर्नुहोस् भिडिओ

त्यसपछि मन्त्री खरेलले उक्त घडी लगाएर उपस्थित भएका विभिन्न कार्यक्रमका क्लिप हेर्‍यौं । त्यस क्रममा नेपाल टेलिभिजनबाट शुक्रबार दिउसो २ः०९ मिनेटमा प्रकाशन गरेको ‘मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक || 2082/06/31 || NEPAL TELEVISION’ शीर्षकको लाइभ भिडिओ हेर्‍यौं । त्यसमा मन्त्री खरेलले लगाएको उक्त घडी देखिन्छ ।

 

त्यसपछि हामीले मन्त्री खरेल उपस्थित ‘Digital Transformation Interaction Program with Gen Z Representative’ मा पनि उनले घडी लगाएको देखिन्छ । 

हामीले मन्त्री खरेलको प्रेस सल्लाहकार सीबी अधिकारीलाई सम्पर्क गर्‍यौं । र, शुक्रबार सार्वजनिक भएको फोटो र भिडिओको हाइ रेजोलुसन फोटो माग्यौं । उनीमार्फत सञ्चार मन्त्री खरेललाई सम्पर्क गर्‍यौं ।

त्यसबाहेक उनले लगाएका घडीको फोटो माग्यौं । 

त्यस क्रममा उनले पठाएको घडी र मन्त्रालयले सार्वजनिक भिडिओबाट निकालिएको कीफ्रेम दाज्यौं । त्यसमा हामीले घडी मिलेको पायौं । हामीले हेर्दा ‘ROOSTER’ घडी रहेको पायौं । उक्त लोगोको माथि रुस्टरको लोगो राखिएको छ । रुस्टरको लोगोभन्दा तल ‘CHRONOGRAPH’ लेखिएको पायौं । त्यसभन्दा तल ‘WATER RESISTANT’ लेखिएको देखियो । 

मन्त्री खरेलले टेकपाना फ्याक्टचेक टिमलाई भने, “जापानमा मेरो दाइ हुनुहुन्छ डा. दिपेश खरेल । उहाँले पुरानो घडी दिनुभएको हो । र, मैले नै प्रयोग गरेको पनि चार वर्ष भयो ।” खरेलले उपलब्ध गराएको घडीको फिताबाट पनि यो वाच पुरानो भएको देखिन्छ ।​

 

 

रिभर्स इमेज सर्च गरेर हेर्दा रुस्टर ब्रान्डको यो वाच अन्तर्राष्ट्रिय बजारमा व्यापक बिक्री हुने गरेको देखियो । यी विभिन्न तथ्यलाई आधार मान्दा भाइरल भएको खरेलको घडी रोलेक्स नभइ रुस्टर ब्रान्डको रहेको पुष्टि हुन्छ । ईबेमा यस ब्रान्डको यस्तै शैलीको घडीको मूल्य १६६ डलर रहेको देखियो । आजको विनिमय दर अनुसार मूल्य २३ हजार ३१८ रुपैयाँ हुन आउँछ । यही हाराहारी मूल्य पर्ने घडीलाई एक करोडभन्दा बढीको भन्दै प्रचार भइरहेको निष्कर्ष यस तथ्यजाँचबाट निक्लियो ।

दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले करिब एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ‘रोलेक्स’ (Rolex) ब्रान्डको घडी लगाएका छन् । उक्त महँगो घडी कान्तिपुर मिडिया ग्रुपका मालिकले उपहार स्वरूप दिएका हुन् ।

दाबीकर्ता

‘मिसन पीएम’, ‘सचेत खबर’ नामका फेसबुक पेज, ‘कमल बोहरा आरएसपी’, ‘भीम उपाध्याय’, ‘युवराज पौडेल सफल’ नामका फेसबुक प्रयोगकर्ता, अर्जुन ज्ञवाली नामका एक्स प्रयोगकर्ता लगायत अन्य ।

तथ्य 

  • तथ्यजाँचका क्रममा मन्त्री खरेलले लगाएको घडी ‘रोलेक्स’ नभई ‘रुस्टर’ (Rooster) नामक जापानी ब्रान्डको भएको पुष्टि भएको छ ।

  • घडीको डायलमा ‘ROOSTER’, ‘CHRONOGRAPH’ र ‘WATER RESISTANT’ लेखिएको स्पष्ट देखिन्छ । त्यसको पछाडिपट्टिको भागमा पनि रुस्टर लेखिएको छ । 

  • यो घडी मन्त्री खरेललाई जापानमा बस्ने उनका दाइ डा. दिपेश खरेलले उपहार दिएका हुन् र उनले यो घडी करिब चार वर्षदेखि प्रयोग गर्दै आएका छन् ।

  • अन्तर्राष्ट्रिय बजार (जस्तै ईबे) मा यस ब्रान्डको यस्तै शैलीको घडीको मूल्य लगभग १६६ अमेरिकी डलर (करिब २३ हजार नेपाली रुपैयाँ) रहेको छ ।

निष्कर्ष

सञ्चारमन्त्री जगदिश खरेलले लगभग एक करोड मूल्य पर्ने रोलेक्स घडी लगाएको भनी सामाजिक सञ्जालमा गरिएको दाबी भ्रामक छ । वास्तवमा उनले लगाएको घडी ‘रुस्टर’ ब्रान्डको हो, जसको मूल्य दाबी गरिएभन्दा निकै कम (करिब २३ हजार रुपैयाँ) मात्र पर्दछ ।

 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

*भ्रामक पोस्ट फैलाउनेमध्ये एक प्रयोगकर्ता कमल बोहरा आरएसपीको नाम हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स. 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८२ २३:५७