close

युट्युब भिडिओ बनाउन ४ अर्ब लगानी गर्दै मिस्टर बिस्ट, किन होला ?

टेकपाना टेकपाना

कात्तिक ३, २०८२ १५:४१

युट्युब भिडिओ बनाउन ४ अर्ब लगानी गर्दै मिस्टर बिस्ट, किन होला ?

काठमाडौँ । सबैभन्दा बढी सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टले युट्युब भिडिओका लागि ३० मिलियन डलर (करिब चार अर्ब २१ करोड रुपैयाँ) लगानी गर्ने भएका छन् । आइतबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै मिस्टर बिस्टले आफ्नो आगामी योजना सार्वजनिक गरेका हुन् । 

“हामीले यो महिना युट्युब भिडिओमा तीन करोड डलरभन्दा बढी लगानी गर्दैछौं भन्ने जानकारी पाएँ,” उनले लेखेका छन्, “त्यसमाथि, कथा भन्ने तरिका त छुट्टै लेभलको छ । टिमले त तहल्का मच्चाइरहेको छ । यी भिडिओ कति धमाकेदार छन् भनेर देखाउन म आतुर छु ।”

शब्दकै भरमा स्तरीय भिडिओ बनाइदिने टुलहरू व्यापक रूपमा उपलब्ध भइरहँदा कन्टेन्ट क्रिएटरको भविष्यबारे प्रश्न उठिरहेको छ । मिस्टर बिस्ट आफैँले पनि एआईका कारण कन्टेन्ट क्रिएटर विस्थापित हुन सक्ने परिस्थितिबारे चिन्ता व्यक्त गरेका थिए । तर, भिडिओ स्तरीय बनाउन मिस्टर बिस्ट जसरी लगानी गर्छन्, त्यसलाई नियाल्दा एआईले कन्टेन्ट क्रिएटर विस्थापित गर्न नसक्ने धेरैको तर्क छ ।

एआईले मानव सिर्जित जस्तो स्तरीय र भावनात्मक भिडिओ बनाउन नसक्ने तथा उत्कृष्ट कन्टेन्टका लागि लगानी आवश्यक परिरहने हुँदा उनीहरू विस्थापित नहुने केहीको विश्लेषण छ । मिस्टर बिस्टले ३० मिलियन डलर कस्तो भिडिओमा लगानी गर्न लागेका हुन् भन्ने विषय खुलिसकेको छैन । अक्टोबर महिना सकिन अब ११ दिन छ । सम्भवतः यो अवधिमा मिस्टर बिस्टले एउटा भिडिओ बनाउने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८२ १६:३