चितवन राष्ट्रिय निकुञ्जभित्र सफारीमा प्रयोग हुने सवारी साधनमा अनिवार्य जीपीएस जडान गर्नुपर्ने
कात्तिक ११, २०८२ १६:२१
फाइल तस्बिर
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र सञ्चालित जिप सफारीलाई थप व्यवस्थित, पारदर्शी र अनुगमनका लागि प्रभावकारी बनाउन सम्पूर्ण सवारीसाधनमा जीपीएस अनिवार्य गरेको छ । निकुञ्ज प्रशासनले सबै सफारी सवारीसाधनमा जीपीएस उपकरणसहितको ‘भेहिकल ट्र्याकिङ तथा रेकर्ड प्रणाली’ (भीटीआरएस) जडान गर्न अनिवार्य गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सफारी सञ्चालक व्यवसायी तथा समितिलाई चालु आर्थिक वर्षको मंसिरभित्र अनिवार्य रूपमा जीपीएस डिभाइसहितको भीटीआरएस प्रणाली जडान गरिसक्न निर्देशन दिइएको छ । यो प्रणाली लागू भएपछि जिपको गतिविधिमाथि अनलाइनबाट निगरानी गर्न निकुञ्ज प्रशासनलाई सहज हुनेछ । सूचना अधिकारी मगरले भने, “यो प्रणाली लागु भएसँगै निकुञ्जभित्रका जिपको गतिविधिमाथि अनलाइन माध्यमबाटै अनुगमन गर्न सहज हुनेछ ।”
जीपीएस जडानपछि त्यसको डेटा र पहुँच राष्ट्रिय निकुञ्ज प्रशासनसँग रहनेछ । यसले गर्दा सवारीसाधनको अवस्थाको निगरानी गर्न सकिनेछ । यो अनलाइन मोनिटरिङ प्रणाली लागु गर्नुको मुख्य उद्देश्य वन्यजन्तुको वासस्थानमा कम बाधा पुर्याउनु र सफारीलाई व्यवस्थित गर्नु रहेको निकुञ्जले जनाएको छ । यसले निकुञ्ज व्यवस्थापनलाई धेरै किसिमले सहयोग गर्ने थापा मगरको भनाइ छ । उनले भने, “यसले जिप कुन-कुन ठाउँमा पुगेका छन् भन्ने लोकेसन ट्र्याक गर्न, धेरै गाडीहरू एकै ठाउँमा जम्मा भएर भिडभाड सिर्जना हुन नदिन र कुनै सवारीसाधन प्रतिबन्धित क्षेत्रतिर गएको वा नगएको अनुगमन गर्न मद्दत गर्नेछ ।” यसबाट निकुञ्ज व्यवस्थापनलाई टाढैबाट सम्पूर्ण गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
सूचना अधिकारी थापा मगरका अनुसार जीपीएस उपकरण खरिद गर्दा कुनै स्पेसिफिकेसन वा कम्पनी तोकिएको छैन । उनले अगाडि भने, “कुनै स्पेसिफिक कम्पनीको जीपीएस नै राख्नुपर्छ भन्ने छैन, तर उक्त डिभाइसले भीटीआरएस प्रणालीलाई सपोर्ट गर्ने र निकुञ्जलाई आवश्यक अनुगमन डेटा प्रदान गर्न सक्ने हुनुपर्दछ ।”
पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ १६:२१
