close

जियोसँगको सहकार्यमा ‘भारतीय जेनजी’लाई ५६ हजार पर्ने एआई प्रो निःशुल्क दिँदै गुगल

टेकपाना टेकपाना

कात्तिक १५, २०८२ १२:३०

जियोसँगको सहकार्यमा ‘भारतीय जेनजी’लाई ५६ हजार पर्ने एआई प्रो निःशुल्क दिँदै गुगल

काठमाडौँ । भारत जस्तो उदीयमान बजारमा आफ्नो एआई प्रभुत्व विस्तार गर्ने दौडमा अमेरिकी प्रविधि दिग्गज गुगल पनि जोडिएको छ । गुगलले यसै क्रममा बिहीबार भारतको सबैभन्दा ठुलो कम्पनी रिलायन्स इन्डस्ट्रिजसँग साझेदारीको घोषणा गरेको हो । 

यस अन्तर्गत गुगलले आफ्नो प्रिमियम ‘एआई प्रो’ सब्सक्रिप्सन भारतीय जेनजी प्रयोगकर्तालाई १८ महिनाका लागि निःशुल्क उपलब्ध गराउने छ । त्यसका लागि जिओको फाइभजी प्लान प्रयोग गर्नुपर्ने छ भने प्रयोगकर्ता जेन-जी उमेर समूहभित्र हुनुपर्छ । जेनजी उमेर समूहमा १३ देखि २८ वर्षभित्रका पर्ने भए पनि सुरुवाति चरणमा १५ देखि २५ वर्षसम्मका युवायुवतीले यो सेवा प्रयोग गर्न पाउनेछन् । त्यसपछि कम्पनीले विस्तारै उमेर समूहका बाँकी प्रयोगकर्तालाई यो सेवा उपलब्ध गराउने जनाएको छ ।

गुगलको एआई प्रो प्लानको मूल्य भारतीय बजारमा ३५ हजार १०० भारु (५६ हजार १६० रुपैयाँ) तोकिएको छ । यस कदमले भारतको तीव्र रूपमा विकसित भइरहेको एआई बजारमा प्रतिस्पर्धालाई अझ रोचक बनेको छ । यसअघि भारतको दोस्रो ठुलो दूरसञ्चार अपरेटर भारती एयरटेलले पर्प्लेक्सिटीसँग साझेदारी गरी आफ्ना ३६ करोड ग्राहकलाई पर्प्लेक्सिटी प्रो निःशुल्क उपलब्ध गराउने योजना ल्याएको थियो । त्यसको तीन महिनापछि गुगलले त्यसलाई चुनौती दिन आफ्नो नयाँ रणनीति अगाडि सारेको हो ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र तथा एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको भारत विश्वव्यापी प्रविधि फर्मका लागि अपरिहार्य लक्ष्य बनिसकेको छ । यद्यपि देशले हालसम्म ठुलो स्वदेशी एआई सफलता हासिल गरिसकेको छैन । यही भूमिलाई अमेरिकी प्रविधि कम्पनीले विविध डेटा सङ्कलन गर्ने, मोडेललाई परिष्कृत गर्ने र एआईका प्रयोग परीक्षण गर्ने अवसरका रूपमा लिएका छन् । 

यो योजनामा गुगलको जेमनाई एपमार्फत जेमनाई २.५ प्रो मोडेल, नानो बनाना र भिओ ३.१ प्रयोग गर्न सकिन्छ । यो प्लान लिएपछि शब्दकै भरमा बनाइने तस्बिर र भिडिओको सीमा बढ्छ । साथै अध्ययन तथा अनुसन्धानका लागि नोटबुक एलएमका अतिरिक्त फिचर प्रयोग गर्न, गुगल फोटोज, जिमेल, ड्राइभ र ह्वाट्सएप ब्याकअपका लागि २ टीबी क्लाउड स्टोरेज पनि यही प्लान अन्तर्गत पर्छ । 

गुगलको एआई प्रो प्लानको सामान्य मासिक लागत भारतमा १,९५० भारु रहेको छ र यसमा एक महिनाको निःशुल्क परीक्षण समावेश हुन्छ । यस साताको सुरुमा गुगलको प्रतिद्वन्द्वी ओपनएआईले ४ नोभेम्बरदेखि भारतमा सबै प्रयोगकर्तालाई आफ्नो सबैभन्दा सस्तो सब्सक्रिप्सन प्लान ‘च्याटजीपीटी गो’ निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ १२:३०