close

सामसङ इन्टरनेट ब्राउजर अब विन्डोज पीसीमा पनि

टेकपाना टेकपाना

कात्तिक १५, २०८२ १३:५७

सामसङ इन्टरनेट ब्राउजर अब विन्डोज पीसीमा पनि

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो लोकप्रिय मोबाइल ब्राउजर सामसङ इन्टरनेटको बेटा भर्सन विन्डोज पीसीका लागि जारी गरेको छ । सामसङ ग्यालेक्सी इकोसिस्टममा ग्राहकहरूका लागि अझ सहज र जोडिएको अनुभव दिने उद्देश्यका साथ कम्पनीले यो कदम चालेको हो ।

यसबाट कम्पनीले आफूलाई तीव्र रूपमा उदाउँदै गरेको एआई ब्राउजरहरूको परिदृश्यमा उभ्याउन खोजेको देखिन्छ । जसमा ओपनएआईको च्याटजीपीटी एटलस र माइक्रोसफ्टको एज कोपाइलट मोड जस्ता प्रतिस्पर्धीहरू समावेश छन् ।

यो बेटा कार्यक्रम विन्डोज ११ र विन्डोज १० (१८०९ भर्सन र त्यसमाथि) का प्रयोगकर्ताहरूका लागि ३० अक्टोबरदेखि संयुक्त राज्य अमेरिका र कोरियामा उपलब्ध हुनेछ । सामसङले यसपछि व्यापक विस्तारको योजना बनाएको छ ।

सामसङको यो कदम कम्पनीको एम्बियन्ट एआईको भिजनलाई अगाडि बढाउने विषयमा केन्द्रित छ । जसमा एआई दैनिक जीवनमा सहज रूपमा एकीकृत हुन्छ ।

सामसङले यो नयाँ ब्राउजरलाई मोबाइल र पीसीबिचको थप जोडिएको अनुभव मात्र नभई आगामी थप बुद्धिमान इन्टेलिजेन्ट अनुभवहरूको लागि मार्ग प्रशस्त गर्ने एक महत्त्वपूर्ण माइलस्टोनको रूपमा व्याख्या गरेको छ । सामसङ इलेक्ट्रोनिक्सको मोबाइल एक्सपिरियन्स बिजनेसका प्रमुख सञ्चालन अधिकृत (सीओओ) वोन जुन चोईका अनुसार सामसङ इन्टरनेटको क्षमताले वेबसँग अन्तर्क्रिया गर्ने प्रयोगकको तरिकालाई पुनः परिभाषित गर्नेछ ।

यो ब्राउजर इनपुटको लागि पर्खने पीसी ब्राउजरबाट विकसित भएर प्रयोगकर्ताहरूलाई बुझ्ने एकीकृत एआई प्लेटफर्म बन्ने लक्ष्यमा छ ।प्रयोगकर्ताहरूले डिभाइसहरूबिच सहज रूपमा स्विच हुने क्रममा सामसङ इन्टरनेट फर पीसीले ग्यालेक्सी एआईद्वारा सञ्चालित इन्टेलिजेन्टको नयाँ तह थपेको छ । ब्राउजिङलाई अझ स्मार्ट र कुशल बनाउन यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

सामसङ एकाउन्टमा लग इन हुँदा प्रयोगकर्ताहरूले ब्राउजिङ असिस्ट जस्ता मुख्य ग्यालेक्सी एआई क्षमताहरूमा पहुँच पाउन सक्छन् । ब्राउजिङ असिस्टले तत्काल वेबपेजको सारांश र अनुवाद गर्न मद्दत गर्छ । जसले गर्दा प्रयोगकर्ताहरूलाई छिटो जानकारी फेला पार्न सहयोग पु​ग्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ १५:३३